राम्रो सहकारीकर्मी बनेर महिलालाई आत्मनिर्भर बनाउन मन्त्री अर्यालको आग्रह

  पहिलोपेज

 504 पटक हेरिएको

ललितपुर, २६ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीकर्मी बनेर महिलाहरूलाई आत्मनिर्भर बनाउन सहकारीकर्मी महिलाहरूलाई आग्रह गरेकी छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतवार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को उदघाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले इज्जत, प्रतिष्ठा कमाउनका निम्ति जुनसुकै क्षेत्रमा काम गरेपनि हुने भन्दै आफूलाई रूची भएको ठाउँमा लागेर काम गर्न आग्रह गरिन् । मन्त्री अर्यालले सहकारीमा लागेर राम्रो सहकारीकर्मी बन्न महिलाहरूलाई आग्रह गर्दै सहकारीमार्फत महिलाहरूको आर्थिक अवस्था माथि उकास्ने कार्यमा लाग्न आग्रह गरिन् । ‘तपाईहरू राम्रो सहकारीकर्मी बन्नुस । सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत आत्मनिर्भर बनाउनुस’, मन्त्री अर्यालले भनिन्, ‘आफूजत्तिकै अरूलाई बनाउने ठूलो कुरा हो । आफूमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्नुपर्दैन अरू नै थुप्रै क्षेत्र छन् । सहकारीमा लागेपछि आफू पनि बन्ने र अरूलाई पनि बनाउने हो ।’

काममा निरन्तर क्रियाशीलताले क्षमताको विकास हुने भन्दै मन्त्री अर्यालले त्यसमा जिम्मेवारीले थप क्षमता र परिपक्वताको विकास गर्ने बताइन् । सहकारी संस्थाको साधारणसभामा आएर हाजिर गर्ने मात्रै नभएर सहकारीमा लागेका महिलाहरूले नेतृत्वमा बराबरी दाबी गर्नुपर्ने समेत बताइन् । हिजोका दिनमा पित्तृसत्ताले गर्दा महिला कमजोर र पुरूष बलियो हुने दिन आएपनि अब त्यस्तो नहुने उनको भनाई थियो । तर पितृसत्ताले हामीलाई अठ्यायो अब पितृसत्तालाई ठेगान लगाउन मातृसत्ता चाहिन्छ भन्ने मान्यता महिला आन्दोलनको नभएको मन्त्री अर्यालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार