अबको महिला आन्दोलनको दिशा आर्थिक सशक्तिकरणको दिशा : मन्त्री अर्याल

  पहिलोपेज

 1100 पटक हेरिएको

काभ्रे, २५ फागुन । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अबको महिला आन्दोनको दिशा आर्थिक सशक्तिकरणको दिशा हुनुपर्ने बताएकी छन् । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा काभ्रे जिल्लाका स्थानीय तहका उपप्रमुख महिलाहरूलाई सम्मान गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

परोपकार प्राथमिक उपचार केन्द्र काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमलाई शनिवार धुलिखेलमा सम्बोधन गर्दै मन्त्री अर्यालले हिजो र आजको महिला आन्दोलनको समीक्षा गर्ने बेला आएको समेत बताइन् । महिला आन्दोलनको समीक्षा गर्दै हरेक क्षेत्रमा आर्थिकरूपमा सशक्तिकरण गर्नुपर्ने मन्त्री अर्यालले बताइन् । ‘हिजोको महिला आन्दोलन र आजको महिला आन्दोलन कसरी अगाडि बढिरहेको छ ? हिजोको महिला र आजको महिलाबीचमा के फरक छ भनेर समीक्षा गर्ने बेला आएको छ’, मन्त्री अर्यालले भनिन्, ‘अबको महिला आन्दोलन हरेक क्षेत्रमा महिलाको आर्थिक सशक्तिकरणको हो । सबै रूपमा स्वतन्त्रता प्राप्त गर्ने भनेको पूर्णरूपमा आर्थिक सशक्तिकरण हो । तपाइहरू त्यसतर्फ लाग्नुस् ।’

आर्थिक अवस्था सुधारका निम्ति सीप सिकाउने, उत्पादनमा जोड्ने, उद्यमशीलतातर्फ लाग्न महिलाहरूलाई मन्त्री अर्यालको आग्रह थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूलाई मन्त्री अर्यालले महिला लगायत लक्षित समुदायको कार्यक्रम निर्माण गरी सीप सिकाएर आर्थिक आयआर्जनतर्फ लगाउन समेत आग्रह गरिन् ।

मन्त्री अर्यालले आफ्नो ठाउँको विकासका निम्ति लक्षित कार्यक्रम बनाएर लाग्न समेत आग्रह गरिन् । स्थानीय पालिकाका प्रमुख, पालिका, पार्टी सबैको सहयोग लिएर अगाडि बढ्न मन्त्री अर्यालले स्थानीय तहका प्रमुखहरूलाई आग्रह गरिन् ।

अहिले राज्यले विभिन्न निकायमा आरक्षणको व्यवस्था गरे पनि त्यो व्यवस्था लामो समयसम्म नरहने हुनाले अब महिलाहरूले हरेक क्षेत्रमा आफूलाई खुला प्रतिस्पर्धाका निम्ति समेत तयार गर्नुपर्ने मन्त्री अर्यालले बताइन् । प्राप्त अवसरलाई सदुपयोग गर्दै भोलिका लागि आफूलाई तयार गर्न उनले आग्रह गरिन् । ‘सधैं आरक्षणको व्यवस्था हुँदैन । यो लामो समय रहँदैन । अब खुला प्रतिस्पर्धामा महिलाहरूले आफ्नो सामथ्र्य र क्षमताको विकास गर्नुपर्छ । त्यसको तयारी अहिलेदेखि नै गर्नुस्’, मन्त्री अर्यालले भनिन् ।

आफ्नो क्षमता, भूमिकाले स्थान बनाउने भन्दै उनले व्यवहार, कामले महिलाले काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न आग्रह गरिन् । इतिहासको कालखण्ड हेर्दा हिजो पनि महिला कमजोर नभएको भन्दै मन्त्री अर्यालले हिजोका दिनमा पनि महिला धन, बल र बुद्धिका क्षेत्रमा महिला अगाडि रहेको र आजका दिनमा पनि अगाडि बढिरहेको बताइन् ।

अर्को एक प्रसङ्गमा मन्त्री अर्यालले मुलुकमा संघीयता लागु भएर ३ तहको सरकारको परिकल्पना गरिरहँदा यी ३ तहकै समन्वयात्मक भूमिकाले मात्रै मुलुक अगाडि बढ्नसक्ने बताइन् । सरकारले अगाडि बढाएको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पूरा गर्न तीनै तहको समन्वयात्मक भूमिकाको जरूरी रहेको उनको भनाइ थियो । ‘सुखी नेपाली र समृद्ध नेपाल बनाउनका निम्ति यी तीनै तहको समन्वयबीना सम्भव छैन’, उनले भनिन् ।

यसैगरी मन्त्री अर्यालले भूमिसँग हरेकको चासो रहेको भन्दै तर आफूले ‘पोलिशी’ बनाएर मात्र अगाडि बढ्ने योजना रहेको बताइन् । समग्र भूमिको व्यवस्थापन अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक भूउपयोग ऐन अगाडि बढाएको र त्यसले जमिनको उपयोगिताको आधारमा ९ प्रकारको जमिनको वर्गीकरण गर्ने बताइन् । ‘भूमि ऐनले ९ प्रकारको भूमिको परिकल्पना गरेको छ । कृषियोग्य जमिनको अधिकतम प्रयोग गरेर उत्पादकत्व बढाउने । खेतीयोग्य जमिनलाई कृषियोग्य उत्पादनमा लगाउनका निम्ति सरकारले प्रेरित गर्ने छ’, उनले भनिन् ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद नविना लामा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक बेञ्जु, प्रदेश नम्बर ३ का सांसदहरू चन्द्र लामा, रत्न ढकाल, कमला लामा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका नेता नारायण पाण्डे, नेपाली काँग्रेस काभ्रेका नेता सिबी लामाले कार्यक्रममा सहभागी उपप्रमुखहरूलाई आगामी निर्वाचनमा पालिकाहरूको प्रमुखको तयारी गर्न आग्रह गरेका थिए । त्यसका निम्ीि महिलाहरूले आफ्नो क्षमता र कार्यकुशलता पनि देखाउनुपर्ने उनीहरूले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार