मसालले मित्रशक्ति मान्ने, विप्लवका कार्यकर्ताले चन्दा असुलीका लागि छान्ने

  पहिलोपेज

 792 पटक हेरिएको

काठमाडौं, २३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल समर्थित राष्ट्रिय जनमोर्चाले जितेका विभिन्न गाउँपालिकाहरूमा जबर्जस्तीपूर्वक चन्दा असुली र कतिपय आन्दोलनका कार्यक्रमहरूमा सहभागी हुनका लागि धम्की दिने गरेको खुलेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

‘‘उनीहरूको त्यस प्रकारको कार्यविधिलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ’’, महामन्त्री सिंहको विज्ञप्तिमा भनिएको छ, ‘‘नेकपा विप्लव पक्षलाई हामीले आफ्नो मित्र शक्ति नै मानेका छौँ । तर उनीहरूले हामीहरूप्रति शत्रुतापूर्ण व्यवहार अपनाउँदै गइरहेका छन् । उनीहरू र हाम्राबीचमा भएका कतिपय राजनीतिक मतभिन्नताका कारणले उनीहरूका आन्दोलनका सबै कार्यक्रमहरूलाई हामीले समर्थन गर्न नसक्ने कुरा प्रष्ट छ । त्यो अवस्थामा उनीहरूले आफ्ना आन्दोलनको समर्थनका लागि कुनै पनि प्रकारको दवाव दिने वा जबर्जस्ती गर्ने कार्य हाम्रा लागि सह्य हुन सक्दैन ।’’

विज्ञप्तिमा उनीहरूले त्यस प्रकारको कुनै कारवाही गरेमा त्यसको हामीले सशक्त प्रकारले प्रतिरोध गर्ने कुराको पनि जानकारी गराइएको छ । विज्ञप्तिममा भनिएको छ, ‘‘हामीले आशा गर्दछौँ उनीहरूले हामीहरूप्रति मित्रवत र सन्तुलित व्यवहार गरिरहने छन् ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार