उपराष्ट्रपति पासाङसँग अमेरिकी राजदूतले किन भने, ‘अन्तिम नहोस्’

  पहिलोपेज

 1405 पटक हेरिएको

काठमाडौं, २२ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन् । बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा अमेरिकी राजदूत बेरीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताएका थिए । उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

अमेरिकी राजदूतसँगको भेटमा उपराष्ट्रपति पासाङले नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताएका थिए । ‘‘अबको हाम्रो प्राथमिकता लोकतन्त्रको सुदृढीकरण, आर्थिक, सामाजिक रुपान्तरणसहितको विकास र समृद्धि हो’’, उनले भने, ‘‘नेपालको समृद्धिको यात्रामा अमेरिकाको साथ सहयोग रहनेमा विश्वस्त छौँ ।’’

उपराष्ट्रपतिले नेपालले विश्वलाई शान्तिको सन्देश दिइरहेको बताउँदै भने, ‘‘हामीले नेपालको शान्ति प्रक्रियालाई आफ्नो मौलिकतामा निष्कर्षमा पु¥यायौँ । नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्नसक्छ । यो गौतम बुद्धको देशको सन्देश पनि हो ।’’

उपराष्ट्रपतिले यसै महिनामा आयोजना हुने लगानी सम्मेलन र भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने विश्वास व्यक्त गरेका थिए । ‘‘नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून र नियमहरु लगानीमैत्री बनेका छन् । लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरु आऊन्, लगानी गरुन भन्ने हाम्रो आग्रह छ ।’’

उपराष्ट्रपति पासाङका प्रेस संयोजक मनोज घर्तीमगरका अनुसार उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणको आवश्यकता रहेको बताए । उनले मिलिनियम च्यालेन्ज कोपरेशन (एमसीसी) सम्झौताबाट नेपालले धेरै लाभ लिने बताउँदै धन्यवाद दिए ।

उपराष्ट्रपतिसँगको भेटमा अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मूल्य र मान्यतामा आधारित रहेको बताए । नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउँदै राजदूत बेरीले नेपालले सार्वभौम र स्वतन्त्ररुपमा आफ्नो र विश्वको बारेमा निर्णय लिन सकोस भन्ने अमेरिकाको धारणा रहेको बताए ।

‘‘अमेरिका नेपालको लोकतन्त्र सुदृढ् भएको, जनताको आकांक्षाहरु पूरा भएको, राजनीतिक स्थायित्व हासिल भएको देख्न चाहन्छ’’, उनले भने, ‘‘नेपालले सार्वभौमरुपमा आफ्नो निर्णय गर्न सकोस् । स्वतन्त्ररुपमा विश्वमै आफ्नो निर्णय लिन सकोस् ।’’

अमेरिकी राजदूत बेरीले नेपालमा लगानी गर्ने वातावरण बनेको बताउँदै थपे, ‘‘नेपालमा लगानी गर्ने वातावरण बनेको छ । यसको मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) सम्झौता हुनु यसको प्रमाण हो ।’’

राजदूत बेरीले नेपालको लगानी सम्मेलन र भ्रमण वर्ष २०२० सफल पार्न आफू र अमेरिकाको पूर्ण सहयोग रहने उल्लेख गरे । राजदूत बेरीले दुई देशबीचको उच्चस्तरीय भ्रमणको खाँचो रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । ‘‘दुई देशबीच उच्चस्तरीय भ्रमण हुनुपर्दछ । दुई शीर्ष नेताको भेटले निर्णय लिन र कार्यान्वयन गर्न सहज हुन्छ । धेरै वर्षपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्रीले अमेरिकाको भ्रमण गर्नुभयो । म आशा गर्छु, त्यो अन्तिम नहोस् ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार