टीकापुर घटनाबारे अदालतको फैसला दुर्भाग्यपूर्ण : सुरेन्द्र चौधरी

  पहिलोपेज

 3198 पटक हेरिएको

काठमाडौं, २२ फागुन । थारु अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर घटनाबारे कैलाली जिल्ला अदालतले गरेको फैसलालाई दुर्भाग्यपूर्ण बताएको थारुवान डटकमले जनाएको छ । उनले सरकारले लुकाएका विभिन्न प्रतिवेदनमा सम्पूर्ण थारुहरु निर्दोष रहेको बताउँदै ती प्रतिवेदनहरु सार्वजनिक गर्न मागसमेत गरेका छन् ।

प्रतिवेदनमा कैद सजाय भोगिरहेका र फरार भनिएका सबै थारुहरु निर्दोष रहेको दावी गर्दै के आधारमा अदालतले यस्तो फैसला गरेको भन्ने प्रश्न गर्दै उनले फैसलाको कडा आलोचना गरेका छन् ।

‘‘गरिश चन्द्र लाललगायत विभिन्न प्रतिवेदनहरु सरकारले लुकाएको छ । थारुहरु निर्दोष भनिएका ती प्रतिवेदनहरु किन सार्वजनिक गरिँदैन ?’’ उनले प्रश्न गरेका छन् । ‘‘के आधारमा रेशम चौधरीहरुलाई जन्मकैद सजाय सुनाइयो ? अदालतको यो फैसलाविरुद्ध उत्पीडनमा परेका आम समुदायहरु एकजुट हुन जरुरी छ’’, उनले भनेका छन् ।

जिल्ला अदालतले पक्षपाती फैसला गरेपनि अब उच्च अदालत र सर्वोच्च अदालत जाने ठाउँ बाँकी रहेको उनले बताएका छन् । ‘‘थारुहरुले अहिल्यै हरेस नखाने बताउँदै उनीहरु उच्च अदालत हुँदै सर्वोच्चसम्म पुग्नेछौं ।’’ उनले एकदिन सत्यको जित अवश्य हुने बताउँदै संयमित भएर काम गर्न आम थारुहरुलाई आव्हानसमेत गरेका छन् ।

‘‘शासकीय शक्तिले केही समयको लागि दमन गर्न सक्लान् तर न्यायसंगत आवाजका कारक तत्वलाई सत्यले पनि मार्न सक्दैन’’ उनले भनेका छन् । ‘‘विगत तीन वर्षदेखि गैरकानुनी रूपले कैलाली जेलभित्र यातनापूर्ण अवस्थामा बन्दी बनाइएका थारु योद्धा तथा सामाजिक न्याय र राजनीतिक अधिकारको लडाइँका नायकहरुको विजय एक दिन अवश्य हुनेछ’’, उनले भनेका छन् ।
उनले थारुको शान्तिपूर्ण संघर्ष निरन्तर जारी रहने बताउँदै यो लडाइँ कुनै समुदाय विशेषको नभएर सामाजिक न्याय र राजनीतिक लडाइँ भएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार