अब एटिएमबाट २ रुपैयाँमै धित मरुन्जेल घुटुघुटु पानी

खानेपानी मन्त्री बिना मगरद्वारा नेपालमै पहिलोपटक वाटर एटिएमको उद्घाटन

  पहिलोपेज

 989 पटक हेरिएको

ललितपुर, २१ फागुन । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलोपटक वाटर एटिएमको उद्घाटन गरिएको छ ।

खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटिएमको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि मन्त्री मगरले एटिएमबाट पानी झारेर पिएकी थिइन् । यस्तो प्रविधि नेपालमा पहिलोपटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले जानकारी दिए । पहिलोपटक शुभारम्भ गरिएको वाटर एटिएम मेसिन काठमाडौं उपत्यकाका २० ठाउँमा जडान गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए ।

उद्घाटनपछि बोल्दै मन्त्री बिना मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटिएम सफल हुने विश्वास व्यक्त गरिन् । उनले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिई कहीँकतै चुक्न नदिन बोर्डलाई निर्देशन समेत दिइन् । मन्त्री मगरले भनिन्, “हामीले किनेर खाने बोतलको पानी कहिलेकाँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो, त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ । धेरै प्यासीहरुको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ ।”

वाटर एटीएमलाई नेपालीमा पँधेरो नामकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य २ रुपैंयाँ र एक लिटर पानीको मूल्य १० रुपैंयाँ राखिएको छ । उक्त एटीएममा २ रुपैंयाँको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ ।

बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्राएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार