वाइडबडीमा रविन्द्र निर्दोष : प्रधानमन्त्री ओली

  पहिलोपेज

 425 पटक हेरिएको

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उहाँलाई बदनाम गर्न खोजेको उल्लेख गरे । “यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बदनाम गर्न खोजे, जो सम्पूर्णरुपमा निराधार कुरा हो”, प्रधानमन्त्री ओलीले भने, “उहाँले कुनै लोभलालचका लागि होइन र उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन । त्यो वाइडबडी उहाँ मन्त्री हुनुभन्दा पहिलेको कुरा हो । तर पनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृत्ति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।”

वाइडबडीका बारेमा रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, “मलाई दुःख लाग्छ कि उहाँजस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो ।”

मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिनेगरी असाधारण काम गरेको प्रधानमन्त्री ओलीको भनाई छ । छ वटा विमास्थलमा रात्रि उडान सञ्चालन गर्ने, धनगढी, बिराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर उहाँ त्यसतर्फ गएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, “तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर उहाँ जानुभएको थियो ।” ढिलोमा तीन बर्षभित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा हिजो बिहीबार जर्मनीको म्युनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, “हिजो उहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्युनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरपोर्ट ह्याण्डिलिङ बनाउने, उहाँहरुसँग सहकार्य गर्ने उहाँले योजना बनाउनु भएको थियो ।” अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए ।

दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए । यसैगरी उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट विश्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ थियो । निधन भएका अन्य व्यक्तिहरु प्नि आफ्नो आफ्नो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेकपा संसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । यसैगरी बैठकले मृतकका परिवारको लालनपालनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार