उता मन्त्री अधिकारी मृत्युको मुखमा पुग्दा यता बर्खास्त गर्न माग, २३ गिरफ्तार

  पहिलोपेज

 2180 पटक हेरिएको

काठमाडौं, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्युको मुखमा पुगेका बेला यता राजधानीमा भने उनलाई नै बर्खास्त गर्नुपर्ने मागसहित अधिकारकर्मीहरु धर्ना अभियानमा थिए । उक्त धर्ना कार्यक्रमबाट २३ अधिकारकर्मीहरु गिरफ्तार भएको मानवअधिकार तथा शान्ति समाजका कार्यक्रम अधिकृत सरिता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइडबडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै मानवअधिकार तथा शान्ति समाजले तेस्रोपटक धर्ना तथा प्रदर्शन कार्यक्रम आयोजना गरेको हो । धर्नाबाट प्रहरीले ५ महिलासहित २३ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना तथा प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, नम्रता खरेल पौडेल, सरस्वती ढकाल, अधिकारकर्मीहरु डा. सुरेन्द्र भण्डारी, जगन्नाथ पुडासैनी, चन्द्रमणि बञ्जारा, ईश्वर पुडासैनी, वीपी पौडेल, उमा गौतम, ईश्वरा लिङ्देन, सुमित जीसी, ज्ञानेन्द्र शाही, अमृतजंग महत, अविशेक अग्रहरी, उत्तमकुमार थापा, भीमबहादुर मगर, लोकेन्द्र पोख्रेल, सुवास भण्डारीलाई गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख छ । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ ।

कार्यक्रममा ‘ठूला नेता मिलेका : साढे ४ अर्व निलेका’ लेखिएका २ सय ७५ वटा कागजको प्लेन उडाई धर्ना प्रारम्भ भएको थियो । अर्को धर्ना फागुन २२ र २९ गते आयोजना हुने बताइएको छ । यो अभियानअन्तर्गत जिल्ला जिल्लामा पनि कार्यक्रम जारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार