भरतपुर महानगरमा मेयर र उपमेयरबीच यस्तो घम्साघम्सी, मेयर रेणुले खोलिन् यस्तो रहस्य

  पहिलोपेज

 665 पटक हेरिएको

चितवन, १५ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह ठकुरीबीच पछिल्लो समय घम्साघम्सी चलेको छ । मेयर दाहाल र उपमेयर शाहबीच आरोप प्रत्यारोपको श्रृङ्खला चलिरहेको छ । पछिल्लोपटक मेयर रेणु दाहालले त पत्रकार सम्मेलन नै गरेर उपमेयर शाहका नातागोताले जागिर नपाउँदा आफ्नो चरित्र हत्या गर्न थालिएको दावी गरेकी छन् ।

आफूमाथि लगाइएका आरोपहरुको खण्डन गर्न पत्रकार सम्मेलनको आयोजना गरेर मेयर रेणु दाहालले उपमेयर शाहमाथि धेरै आरोपहरु लगाएकी छन् । उपमेयर शाहले भनेको व्यक्तिले जागिर नपाउँदा समस्या आएको मेयर दाहालले बताइन् । ‘अहिलेको अवस्था सिर्जना हुनुको चुरो अर्कै छ । उपमेयरज्यूको भतिजीलाई महानगरमा जागिर मिलाउन नसक्दा यो अवस्था आएको हो’, मेयर दाहालले भनिन् । मेयर दाहालले उपमेयर शाहले आफ्नो सचिवालयदेखि सबै क्षेत्रमा नातागोतालाई नै जागिर लगाएको समेत आरोप लगाइन् ।

मेयर दाहालले उपमेयर शाहले आफूमाथि मिथ्या आरोप लगाएर चरित्रहत्या गर्न खोजेको दावी गरिन् । ‘मलाई व्यक्तिगत लाभ लिनु केही छैन् । महानगरको विकासमा कटिबद्ध छु । अनावश्यक विवादमा मुछेर मेरो चरित्रहत्याको प्रयास भयो’, मेयर दाहालले भनिन् ।

मेयर दाहालले उपमेयर शाहले लगाएको एक एक आरोपको खण्डन गर्दै आफूमाथि लगाइएका आरोपहरु पुष्टि गर्न उपमेयर शाहलाई चुनौतीसमेत दिएकी छन् । ‘उपमेयरले लगाएका सबै आरोप झुटा र मनगढन्ते हुन्’, मेयर दाहालले भनिन् । उपमेयरले आफ्ना ४ जना नजिकका नातेदारलाई सचिवालयमा राखेको बताउँदै एकजना भतिजीलाई पनि कम्प्युटर अपरेटर नियुक्ति गर्न ताकेता गर्दे आएको र प्रमुख प्रशासकीय अधिकृतले नियमले नमिल्ने भन्दै बताएपछि त्यसैको विरोधमा उपमेयर शाह पत्रकार सम्मेलन गर्दै हिडेको प्रमुख दाहालको दावी थियो । उपमेयर पनि महानगरको दोस्रो जिम्मेवार व्यक्ति भएकोले आफूमै भएको कमजोरी खोज्न र जथाभावी नबोल्न दाहालले आग्रह समेत गरिन् ।

मेयर दाहाल पत्रकार सम्मेलनमा कर्मचारीहरुको पूरै बचाउ गर्दै अनावश्यक मिडियावाजी गरेर आफ्नो र कार्यकारी अधिकृतको चरित्र हत्या गर्न खोजेको उल्लेख गरिन् । जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एक रथका दुई पाङ्ग्रा जस्तै भएकोले कर्मचारीलाई अनावश्यक दवाव दिएर विकासका काममा भाँजो नहाल्न उनले उपमेयर शाहलाई अनुरोध पनि गरिन् । आफूले कमजोरी गरेको भएमा जनताको कठघरामा उभिन तयार भएको भन्दै मेयर दाहालले महानगरकै टेबलमा बसेर छलफल गर्न आफू तयार रहेको उल्लेख गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आफूले कुनै दिन पनि गलत मनसाय राखी जनप्रतिनिधिलाई व्यवहार नगरेको दावी गरेका थिए । उनले आफूले गल्ती गरेको प्रमाण दिए माफी माग्न पनि तयार रहेको भन्दै आफूले कुनै गल्ती नगरेको दावी गरे । भरतपुर विकासको तीव्र गतिमा अगाडि बढिरहेको सन्दर्भमा आपसी विवाद र खिचातानीले गन्तव्यमा पुग्न नसकिने भन्दै उनले नमिलेका विषयलाई छलफलबाट टुंगो लगाउँदै अगाडि बढ्न सबै पक्षसँग आग्रह पनि गरे ।

उपमेयर पार्वती शाह ठकुरीले हिजो राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिकाका मेयर र प्रशासकीय अधिकृतले आफूलाई पेलेर काम गरेको तथा अनियमितता गरेको आरोप लगाएकी थिइन् । त्यसको जवाफ दिन मेयर दाहालले आज पत्रकार सम्मेलन गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार