पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन सभामुख महराले गर्ने

  पहिलोपेज

 563 पटक हेरिएको

काठमाडौं, ५ भदौ । नेपाल पत्रकार महासंघको यही फागुन ९ र १० गते कास्कीको पोखरामा हुने केन्द्रीय साधारणसभाको उद्घाटन सम्माननीय सभामुख कृष्णबहादुर महराले गर्ने भएका छन् । महासंघको आज बसेको बैठकपछि महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा केन्द्रीय साधारणसभालाई ऐतिहासिकरुपमा सम्पन्न गर्न महासंघका प्रदेश समितिका पदाधिकारी, शाखा अध्यक्ष एवं सभासद्हरुलाई सक्रिय सहभागिताका आव्हान गरिएको छ ।

विज्ञप्तिका अनुसार साधारणसभाको उदघाटन फागुन ९ गते दिउँसो ३ः०० बजे पोखरा सभागृहमा हुनेछ । सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा हुने उदघाटनसत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रमुख राजनीतिक दलका प्रतिनिधि, पत्रकार संगठनका प्रमुख, महासंघका पूर्वअध्यक्षसमेतको सहभागिता रहने बताइएको छ । उदघाटनअघि झाँकीसहित ¥यालीले पोखरा परिक्रमा गर्नेछ ।

साधारणसभामा महासंघले शिवहरिप्रसाद भट्टराई (सप्तरी)लाई ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार, शम्भु श्रेष्ठ (काठमाडौं)लाई ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’, बलराम थापा (काठमाडौं)लाई ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’, गीता कुँवर (अछाम)लाई ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’, हिरालाल चौधरी (सिराहा)लाई ‘उमासिंह पत्रकारिता पुरस्कार’, प्रदान गर्ने निर्णय पनि गरिएको छ । साथै, विभिन्न शाखालाई कदरपत्रबाट सम्मानित गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले अनलाइन सञ्चारमाध्यमहरुको नवीकरण नगर्ने सूचना तथा प्रसारण विभागको कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल नवीकरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । महासंघले अनलाइन मिडिया सञ्चालन गर्न सुशासन ऐनअन्तर्गत बनेको अनलाइन निर्देशिका खारेज गर्न माग गर्दै अनलाइन मिडियालाई पनि अन्य सञ्चारमाध्यमसरह मान्यता दिई सञ्चार कानुनअन्तर्गत सम्बोधन गर्न जोडदार माग गरेको छ ।

बैठकले श्रमजीवी पत्र ऐन लागू गराउने र न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन महासंघले चलाएको दबाबमूलक अभियानलाई थप प्रभावकारी र सशक्त ढंगबाट अघि बढाउने निर्णय पनि गरेको छ । त्यसका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको नेतृत्वमा र सूचना तथा प्रसारण विभागका प्रतिनिधि सम्मिलित अनुगमन टोलीमा महासंघका तर्फबाट चारजना प्रतिनिधि केन्द्रीय सदस्यहरु जन्मदेव जैसी, यम विरही, टीकाराम प्रधान र टेकराज थामीलाई पठाएको छ ।

साना लगानीका र स्वरोजगारमूलक मिडियाहरुको हित संरक्षणका पक्षमा महासंघले दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । नागरिकले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई उपभोग गर्न प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल प्रयोगलाई अवरोध पु¥याउने गरी कुनै कानुन नल्याउन र सञ्चारसम्बन्धी कानुनहरु निर्माण गर्दा सरोकारवाला पक्षहरुसँग छलफल र सहमतिमा निर्माण गर्न पनि महासंघले सरकारसमक्ष माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार