चिन्ता नगर्नुस सरकार मृगगतिमा अगाडि बढ्छ : मन्त्री अर्याल

  पहिलोपेज

 760 पटक हेरिएको

कपिलवस्तु, २ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार मृगको गतिमा अगाडि बढ्ने बताएकी छन् । दोस्रो बुद्धभूमि कृषि, व्यापारिक, साँस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनीको कपिलवस्तुमा उदघाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले जनताले अहिले सरकारको कामलाई जाँच गरिरहेको भन्दै सरकार अब मृगगतिमा अगाडि बढ्ने भन्दै त्यसमा विश्वस्त रहन आग्रह गरिन् । ‘सरकार सुखी नेपाली र समृद्ध नेपाल बनाउने उद्देश्य बोकेर अगाडि बढिरहेको छ । विकास र समृद्धि सरकारको एकमात्र चाहना हो’, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरुले चिन्ता नगर्नुस् । सरकार मृगगतिमा अगाडि बढ्छ ।’

सरकारले गति लिइदिए हुन्थ्यो, छिटो काम गरिदिए हुन्थ्यो भन्ने चाहना भएको भन्दै मन्त्री अर्यालले सरकार गति लिँदै समृद्धिको नेतृत्व गरेर सरकार अगाडि बढिरहेको बताइन् । समृद्धिका लागि सम्भाव्यताको अध्ययन गरेर एउटा निश्चित गुरुयोजनाका साथ अघि बढ्ने उनको भनाई थियो ।

१६५ वटा कानुन संघीयतासँग जोडेर निर्माण गर्नु भनेको सानो कुरा नभएको बताउँदै मन्त्री अर्यालले सरकार संघीय संरचनामा गएको नयाँ अभ्यासमा केही समय खर्च भएको बताइन् । सरकारले अहिले ती कुराहरु व्यवस्थित गर्दै आएको भन्दै मन्त्री अर्यालले कर्मचारी समायोजन लगायतका कार्यहरु सम्पन्न गरेको बताइन् ।

दिगो विकास, समृद्धिसँग जोडेर धेरै महत्वपूर्ण कार्यक्रमहरु सरकारले घोषणा गरेको भन्दै मन्त्री अर्यालले संविधानमा लेखिएका कुराहरु जनताले उपभोग गर्न पाउने सालका रुपमा सरकारले लिएको बताइन् । श्रममा आधारित सामाजिक सुरक्षाको कार्यक्रम धेरै महत्वको कार्यक्रम भएको बताउँदै मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण भएको दावी गरिन् । ठूला मेगा प्रोजेक्ट सञ्चालन र सम्झौता गर्ने कार्यक्रम, हिजो बन्द भएका छिमेकी मुलुकका नाकाहरु खोल्ने प्रयत्नलाई पनि सानो मान्न नहुने उनको तर्क थियो ।

नेपालले अब विकास गर्नसक्ने भन्दै मन्त्री अर्यालले यहाँका हरेक स्रोतसाधनलाई ठिक ढंगले परिचालन गरेमा जुनसुकै विकसित मुलुक भन्दा कम नहुने बताइन् । त्यसका निम्ति पहिलो नम्बरमा उर्जाशील जनशक्तिलाई, दक्ष जनशक्तिलाई विदेश पठाएर समृद्धिको सपना पूरा गर्न नसकिने बताइन् । प्रत्येक परिवारबाट कम्तिमा पनि एकजना रोजगारीमा हुनुप¥यो भनेर सरकारले रोजगार कार्यक्रमको घोषणा गरेको भन्दै गत वर्षको तुलनामा यो साल युवाहरु विदेश जाने संख्या घटिसकेको समेत मन्त्री अर्यालले बताइन् । युवा, महिलाहरुलाई उद्यमी बनाएर गाउँमै रोजगारी सिर्जना गर्नतर्फ लाग्नुपर्ने मन्त्री अर्यालले बताइन् ।

पाँच वर्षसम्म केपी ओली सरकारले काम गर्न पाएमा विकास र समृद्धिले छलाङ मार्ने दावी उनको थियो । केहीलाई यही कुराले तनाव दिएको भन्दै अर्यालले विकास र समृद्धिको कुरामा यो पार्टी र त्यो पार्टी भनेर लाग्न नहुने बताइन् । नौमुरे सिँचाई आयोजना सम्पन्न भएमा कपिलवस्तु मुलुककै समृद्धिको आधार बन्नसक्ने भन्दै मन्त्री अर्यालले कपिलवस्तुको आवश्यकता पूर्ति गर्ने नभएर छिमेकी जिल्लासँगै छिमेकी मुलुकमा समेत सेवा पु¥याउन सक्ने बताइन् ।

भूमिसम्बन्धी सरकारले क्रान्ति गर्न खोजिरहेको भन्दै अर्यालले भूमि सम्बन्धमा अहिलेसम्म जेजति समस्या, बेथिति भए ती सबैलाई समाधान गर्नेगरी काम अगाडि बढाएको बताइन् । सरकारले पहिलोपटक भूउपयोग नीति ल्याएको बताउँदै आफ्ना उद्योग, कृषि, वन, पर्यटन, व्यापार क्षेत्र कुन हो भनेर वर्गीकरण गर्दै कृषियोग्य भूमिलाई बाँझो नराख्नेगरी सरकारले काम थालेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार