काठमाडौंमा खानेपानीको समस्या समाधान गर्न सरकार निकै गम्भीर : मन्त्री मगर

  पहिलोपेज

 787 पटक हेरिएको

काठमाडौं, २ फागुन । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले समाधान गर्न खोजिरहेको बताएकी छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ११औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताएकी हुन् । मन्त्री मगरले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको पनि बताइन् ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्यौल देखिए पनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।”

केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गरिन् । उनले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताइन् ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गरे । मन्त्रालयका सहसचिव तेजराज भट्टले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर लैजानुपर्ने बताए । कार्यक्रममा मन्त्री मगरले केयुकेएलमा कार्यरत उत्कृष्ट कर्मचारीहरु र अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार