राप्रपालाई मुलुकको बलियो शक्ति बनाउँछौं : सहायक महामन्त्री बर्तौला

  पहिलोपेज

 410 पटक हेरिएको

काठमाडौं, १ फागुन । राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले राप्रपालाई मुलुकको बलियो शक्ति बनाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारीको क्रममा सर्लाही पुगेका बर्तौलाले मलङ्गवामा आयोजित कार्यक्रममा बोल्दै पार्टी र नेतृत्वको बिषयमा फिजाइएको भ्रम, षड्यन्त्र र घेराबन्दीलाई तोड्दै उच्च मनोबलका साथ अघि बढ्ने विचार व्यक्त गरे ।

पार्टीले अघि सारेको संगठन निर्माण, जनपरिचालन र जनसंघर्षको बाटो अख्तियार गर्दै गन्तव्यतर्फ जाने चर्चा गर्दै नेता बर्तौलाले सरकार पूर्णरुपमा असफल भएको र प्रतिपक्ष निष्प्रभावी भएको दाबी गरे । ‘‘जनता निराश छन्, अब निराश जनताको आशा हामीले जगाउनुपर्छ’’, सहायक महामन्त्री बर्तौलाले भने ।

सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एर्व युवक संगठनका अध्यक्ष प्रकाश रिमालले तल्लो तहसम्म संगठन निर्माण गर्नुपर्ने र नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नुपर्नेमा जोड दिए । रिमालले स्वाभिमान यात्रालाई सफलतापूर्वक सम्पन्न गर्नको निमित्त सम्पूर्ण पार्टी संरचना चलायमान हुनुपर्ने बताए । कार्यक्रममा अर्का केन्द्रीय सदस्य तथा मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले सञ्चार क्षेत्रको भूमिका र महत्वबारे प्रकाश पार्दै बढीभन्दा बढी समन्वय गरी मिडियाको सहयोग लिन आग्रह गरे ।

राप्रपा सर्लाहीका अध्यक्ष प्रभाकर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु नारायण श्रेष्ठ, राजेश्वरी देवी, मनोज ढुंगेल, विनोद भारती लगायतले बोलेका थिए । स्वाभिमान यात्राको तयारीको निमित्त सहायक महामन्त्री राजाराम बर्तौलाको नेतृत्वमा परिचालन गरिएको टोलीलाई सप्तरीदेखि चितवनसम्म गरी १० जिल्लाको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार