रक्तिममा अन्यौल : एउटामा स्थगित, अर्कोमा राष्ट्रिय सम्मेलनको तयारी पूरा

  पहिलोपेज

 657 पटक हेरिएको

काठमाडौं, २९ माघ । पोखरामा फागुन १, २ र ३ गते आयोजना गरिएको रक्तिम साँस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन अन्यौलमा परेको छ । रक्तिमको केन्द्रीय कार्यालयको तर्फबाट महासचिव नारायण योगीद्वारा जारी विज्ञप्तिमा ‘कतिपय व्यवहारिक तथा परिस्थितिजन्य कारणले’ राष्ट्रिय सम्मेलन स्थगित गरिएको बताइएको छ भने अध्यक्ष जीवन शर्माद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख छ ।

महासचिव नारायण योगीद्वारा माघ २९ गतेको मितिमा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘रक्तिम साँस्कृतिक अभियानको चौथोे राष्ट्रिय सम्मेलन २०७५ फागुन १, २ र ३ गतेसम्म पोखरामा गर्ने भनिएकोमा कतिपय व्यवहारिक तथा परिस्थितिजन्य कारणले गर्दा तत्काल त्यस सम्मेलनलाई स्थगित गरिएको छ । आवश्यक तयारीपछि त्यसको अर्को मिति छिट्टै तय गरिने छ ।’’

यता, रक्तिम साँस्कृतिक अभियानकै केन्द्रीय कार्यालयको तर्फबाटै अध्यक्ष जीवन शर्माको नाममा अर्को विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा केन्द्रीय समितिको बैठक अध्यक्ष जीवन शर्माको अध्यक्षतामा माघ २८ गते पोखरामा सम्पन्न भएको र अभियानका अध्यक्ष जीवन शर्माले विविध कारण जनाउँदै केन्द्रीय समितिको अध्यक्षबाट दिएको राजीनामा बैठकले अस्वीकृत गरेको उल्लेख छ । चौथो राष्ट्रिय सम्मेलनका सम्पूर्ण कार्यक्रमहरु अध्यक्ष शर्माकै नेतृत्वमा अगाडि बढ्ने उल्लेख गर्दै विज्ञप्तिमा चौथो राष्ट्रिय सम्मेलनको अहिलेसम्मको तयारी अवस्था उत्साहजनकरुपबाट अघि बढिरहेको र सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

अध्यक्ष शर्माको विज्ञप्तिमा सम्मेलनको उदघाटन समारोह फागुन १ गते दिनको १ बजे पोखरा सभागृहमा हुने उल्लेख छ । उदघाटनशत्र अघि दिनको १२ बजेदेखि विभिन्न साँस्कृतिक झाँकीहरुसहित जुलुश प्रदर्शन गरिने उल्लेख छ । विज्ञप्तिमा चौथो राष्ट्रिय सम्मेलनले नेपालमा सर्वहारा वर्गीय साँस्कृतिक आन्दोलनलाई नयाँ उचाईमा लैजान महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा अध्यक्ष शर्माको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अध्यक्ष शर्माले पार्टी अनुशासनको उल्लंघन गरेको भन्दै मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले रक्तिमको अध्यक्ष पदबाट हटाएको समाचार सार्वजनिक भएको थियो । अध्यक्ष शर्माले पनि अध्यक्ष पदबाट राजीनामा दिएको तर रक्तिमको केन्द्रीय समितिको बैठकले अस्वीकृत गरेपछि परिस्थिति जटिल बनेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार