समृद्धिको लागि नीति र नियत दुबै स्पष्ट हुनुपर्छ : मुख्यमन्त्री राउत

  निरंजन साह

 329 पटक हेरिएको

जनकपुरधाम, २८ माघ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले समृद्धिको लाति नीति र नियत दुबै स्पष्ट हुनु पर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको १५औं योजनाको आधारपत्रसम्बन्धी प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नीति र नियत स्पष्ट नभएपछि नीति कार्यान्वयन नहुने भन्दै सरोकारवालाहरुलाई नियत समेत स्पष्ट गर्न आग्रह गरे ।

मुलुकले यस १४ वटा पञ्चवर्षीय आवधिक योजना बनाइसके पनि उपलब्धि हासिल गर्न नसक्नुको कारणहरु औल्याउँदै आगामी दिनमा अघि बढ्नुपर्ने उल्लेख गरे । तलदेखि माथिसम्म व्याप्त कुशासन, भ्रष्टाचार जस्ता समस्याहरुले लक्ष्य प्राप्तिमा अवरोध गरिरहेको बताउँदै मुख्यमन्त्ती राउतले त्यस्ता कुशासन अन्त्य गर्ने काम आफैबाट शुरु गर्नुपर्ने उल्लेख गरे ।

१३६ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको उक्त बैठकमा मुख्यमन्त्री राउतले संविधानप्रदत्त अधिकारमा टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरे केही वर्षभित्रै प्रदेशलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे । रकम छर्ने साना योजनाहरुले समृद्धिको बाटो पहिल्याउन नसक्ने जिकिर गर्दै मुख्यमन्त्री राउतले भने, ‘अबको विकास ठोस प्रकारको हुनुपर्छ । मुख्यमन्त्री राउतले, ५० हजार १ लाखको योजना छनौटतिर नलाग्न भन्दै मुलुकलाई समृद्ध बनाउने खालका योजनाहरुको पहिचान गरिनुपर्ने आवश्यकता औंल्याए ।

केन्द्रीकृत मानसिकताले अहिले पनि संघीयतालाई धरापमा पार्न खोजिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले आप्mनो काम कर्तव्यले संघीयतालाई बलियो बनाउने र जिम्मेवार प्रदेश र स्थानीय सरकारको हाथमा रहेको दावी गरे । मुख्यमन्त्री राउतले कृषि, उद्योग र पर्यटन मुख्य आधार भएको प्रदेश नम्बर दुईको लागि त्यसै अनुरुपको योजनाहरु निर्माण गरिदिन योजना आयोगसँग आग्रह समेत गरे ।

मुख्यमन्त्री राउतले हुलाकी सडक, सुनकोशी, कमला डाइभर्सन, स्पष्ट औद्योगिक नीति जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह पनि गरे । योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झासहितका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार