आफूहरुको चाहनाको ख्याल गर्न वालवालिकाको आग्रह

तुलसीपुर ।

यहाँका वालवालिकाहरुले आफूहरुको इच्छा चाहनाको ख्याल गर्न अभिभावकलाई आग्रह गरेका छन् । तुलसीपुर ६ गाईडहरमा रहेको सगरमाथा बाल क्लवले आयोजना गरेको बाल श्रम र बाल विवाह सम्बन्धी चेतनामूलक कार्यक्रममा सहभागी बालवालिकाहरुले यस्तो आग्रह गरेका हुन् । बालवालिकाहरुले आफ्नो इच्छा चाहनाको अभिभावकले कदर नगरिदिंदा समस्या हुने गरेको बताए ।

‘बालवालिकाको इच्छालाई अभिभावकले सधै दवाउनु हुन्छ, छोराछोरीको कुरा सुन्न कोही तयार हुँदैनन्, धेरैलाई फुर्सद पनि हुँदैन,’ जिल्ला बाल सञ्जालका सचिव इशा वलीले भनिन् । उनले अभिभावकत्वको अभावमा धेरै वालवालिकाहरुले बाटो बिराउने गरेको बताइन् । ‘हामी यस बर्ष ४५ वटा बाल विवाह रोक्न सफल भयौं, केहीलाई श्रमबाट उद्धार ग¥यौं, ती मध्य धेरैमा अभिभावकको नै कमजोरी भेटायौं’ उनले भनिन् ।

कार्यक्रममा बाल क्लवका अध्यक्ष मदन भुसालले घरमा बालबालिकाको कुरा नसुनिदंदा समस्या हुने गरेको बताए । बालवालिकाका कुरा सुन्ने र इच्छा चाहना आमा वुवाले पूरा गर्ने गरे मात्रै पनि धेरै समस्या समाधान हुने उनको तर्क थियो । स्रस्वती पूजाको अवसरमा आयोजना गरिएको कार्यक्रममा बालवालिकाहरुले बाल श्रम र बाल विवाह सम्वन्धी चेतनामुलक नाटक, गीत र गजल प्रस्तुत गरेका थिए ।

क्लवका सचिव किरण भुसालको सञ्चालनबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका महिला तथा बालवालिका शाखा प्रमुख माया श्रेष्ठ, सहायक महिला विकास निरिक्षक तेजा गैरे, पत्रकार महासंघ दाङका सदस्य नारायण भण्डारी, संगम अधिकारी, रचित पौडेल, रिता भुसाल लगायतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार