मोटरसाइकल र ट्रेक्टरमा ठोकिँदा ३ जना घाइते, दुईको अवस्था चिन्ताजनक

  निरंजन साह

 305 पटक हेरिएको

जनकपुरधाम, २८ माघ । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा ट्राफिक नियम उल्लंघन गरी भाग्दै गरेको मोटरसाइकल ट्रेक्टरमा ठोक्किएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

सरस्वती पूजाको दिन जनकपुरबाट ज १२ प ६१६३ नम्बरको मोटरसाइकलमा ३ जना सवार भई धनुषाको सपहीतर्फ जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आइरहेको ना ६ त ३५५१ ट्रेक्टरमा ठोक्किएर जनकपुरको मुजेलियास्थित रमन कन्स्ट्रक्सन नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ तेतरिया बस्ने १८ वर्षीय मुन्ना यादव, मोटरसाइकलमा सवार नगराइन नगरपालिका डेवडिहा बस्ने १५ वर्षीय अमित यादव र शहीदनगर नगरपालिका वडा नम्बर ४ बालाबाखरका १६ वर्षीय बालकृष्ण यादव घाइते भएको प्रहरीस्रोतले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुमध्ये मुन्ना र अमितको अवस्था गम्भीर रहेको छ । तीनैजनालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिए पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्थानीयका अनुसार मुजेलियमा तीनैजना सवार सो मोटरसाइकललाई रोक्न खोज्दा छक्याएर तीव्रगतिमा भागेको थियो । तर केही पर पुगेर सो मोटरसाइकल अनियन्त्रित भई ट्रेक्टरमा ठोक्किएको थियो । सवारी साधन चेकजाँच गर्न ट्राफिक प्रहरीले जनकपुरसहित जिल्लाका विभिन्न स्थानमा चेक प्वाइन्ट खडा गरेको थियो । नियम उल्लंघन गरेर मोटरसाइकल चलाउनेहरुलाई कारबाही गरेर आइतबारमात्र करिब ६० हजार राजश्व असुल गरिएको धनुषा ट्राफिक प्रमुख दीपक साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार