भेनेजुयलामा पूर्वमाओवादी अडिग तर पूर्व एमालेले खुट्टा कमायो : चित्रबहादुर केसी

  पहिलोपेज

 492 पटक हेरिएको

काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)निकट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भेनेजुयलाको विषयमा पूर्वमाओवादी अडिग रहेको तर पूर्वएमालेले अमेरिकासँग खुट्टा कमाएको बताएका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, रुपन्देहीले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले त्यस्तो धारणा राखेका हुन् ।

नेकपाभित्र भेनेजुयलाको विषयमा विवाद चर्किरहेको समयमा नेता केसीले पूर्वमाओवादी अडिग बनेको तर एमाले डराएको टिप्पणी गरेका हुन् । उनले राजमो अमेरिकाको विपक्षमा रहेको बताउँदै संसारका कुनै पनि न्यायप्रेपी जनतालाई अमेरिकी हस्तक्षेप स्वीकार्य नहुने बताए ।

अध्यक्ष केसीले भने, ‘संसारमा जहाँसुकै जनताको न्यायपूर्ण आन्दोलनको समर्थन गर्नुपर्छ । अन्याय गर्नेको विरोध गर्नुपर्छ ।’ अध्यक्ष केसीले भेनेजुयलामा अमेरिका लगायत कतिपय युरोपियन देशले हस्तक्षेप गरेको उल्लेख गरे ।

भेनेजुयलामा अमेरिकी हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक भएको बताउँदै केसीले यो प्रकरणबारे नेकपाभित्रको एक पक्षले अमेरिकासँग खुट्टा कमाएको उल्लेख गरे । ‘पूर्वमाओवादीहरु यो विषयमा स्पष्ट हुनुहुन्छ । एमालेमा रहेकाहरूले खुट्टा कमाइरहनुभएको छ । अमेरिकालाई चिढ्याउन हुन्न भन्नुभएको छ’, नेता केसीले भने । अध्यक्ष केसीले थपे, ‘त्यस्तो दोधारे नीति हुन हुन्न । स्पष्ट हुनुपर्छ ।’

अध्यक्ष केसीले संघीय प्रणालीका कारण मुलुक अहिले अस्तव्यस्त बनेको दावी गरे । उनले संघीयताप्रति जनतामा भएको भ्रम पनि हट्दै गएको बताउँदै कांग्रेस र नेकपाकै नेताको मनमा संघीयता कसरी पार लगाउने भन्ने चिन्ता भएको उल्लेख गरे । ‘अहिले प्रदेशको न्वारन गर्न पनि हम्मेहम्मे भएको छ’, उनले थपे, ‘सिंहदरबारमा हुने भ्रष्टाचार तल गयो । प्रदेशमा पहिलोपटक गाडी किन्दा नै भ्रष्टाचार हुनु दुःखद हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार