नायिका रेखा थापाले सरकारमाथि किन ओकलिन् आगो ?

  पहिलोपेज

 856 पटक हेरिएको

 

काठमाडौं, २४ माघ । नायिका रेखा थापाले सरकारमाथि आक्रोश पोखेकी छन् । उनले ‘सक्नेले र हुनेले क्वीन्टल सुन छिराउने एयरपोर्टको कहानी जनताले थाहा पाएको’ बताउँदै रुँदै विदेश गएका नेपाली दाजुभाइलाई एयरपोर्टमा फेरि रुवाइएको र त्यसविरुद्ध विरोधका लागि एक्लै पनि एयरपोर्टमा जान आफू तयार रहेको बताएकी छन् ।

‘‘दुबई, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइले पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभूति नजिकबाट सुनेकी छु’’, नायिका थापाले लेखेकी छन्, ‘‘जब बर्षहरुपछि घर फर्किने सुखद दिन आउँछ । आफन्त र घरपरिवारको लागि खुशीको ससाना उपहार लिएर फर्कन चाहनु स्वभाविक हो ।’’ उनले फेसबुक स्टाटस लेख्दै प्रश्न गरेकी छन्, ‘‘दुइटा फोन, एउटा टिभी वा त्यस्तै अरु सामान । निर्धा जनताले मिटर ब्याज तिरेर पराई देश जान परेकोमा दया नभएको सरकार उनीहरुको कमाइले किनेको नासो देखेर यत्ति जलेको किन होला ?’’

नायिका थापाले प्रश्न गरेकी छन्, ‘‘तिनै युवाको पसिनाको रेमिट्यान्सबाट चलेको देशमा उनीहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ?’’ उनले खुलाएकी छन्, ‘‘सक्नेले र हुनेले क्वीन्टल सुन छिराउने एयरपोर्टको कहानी जनताले थाहा पाएका छन् ।’’

‘‘यिनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा मागेर समाजसेवा, तिनैको नाममा राजनीति अनि उनीहरुको कमाइको नासो किन खोस्दैछ सरकार ?’’ यस्तो प्रश्न गरेकी छन् उनले । उनले सोधेकी छन्, ‘‘के परिवारको लागि चिनो ल्याउनु अपराध हो ?’’ आफ्नो विचारमा यो श्रमिकमाथि शोषण र अत्याचार हो भन्दै थपेकी छन्, ‘‘जाने बेला रुँदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम विरुद्धको आवाज उठाउनु पर्छ ।’’

नायिका थापाले श्रमिक दाइभाइहरुलाई यो देशका गौरव भन्दै उनीहरुको अपमान गर्ने अधिकार कसैलाई नभएको बताएकी छन् । ‘‘यो कार्य बन्द गरिएन भने म एक्लै किन नहोस्, एयरपोर्ट अगाडि विरोध गर्न जान तयार छु’’, उनले चेतावनी दिएकी छन् ।

‘‘आफू अर्बौका सुविधा लिने, कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनि मजदुरको झोला खोस्ने ?’’, उनले प्रश्न गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने नेपालीहरुमाथि कडा चेकजाँच हुनुका साथै उनीहरुका अत्यावश्यक सामानहरु पनि बढी भएको भन्दै जफत गरिएको समाचार सार्वजनिक भएपछि नायिका थापाले सरकारविरुद्ध यस्तो आक्रोश पोखेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार