मेलम्चीको विषयमा मेलम्ची बोर्ड र सिएमसीबीच सिंगापुरमा वार्ता

  पहिलोपेज

 392 पटक हेरिएको

काठमाडौं, २३ माघ । मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । खानेपानी मन्त्रालयका अनुसार उक्त वार्ता सिंगापुरमा जारी छ ।

सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भइरहेको बताइएको छ । मेलम्चीको काम छिटोभन्दा छिटो सक्नका लागि सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो । भोलिसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता भइरहेको छ । निकास निकाल्न सिएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भएको हो ।

यसअघि औपचारिक र अनौपचारिक रुपले सिएमसीका प्रतिनिधिहरुसँग छलफल भइरहेको थियो । दिल्लीस्थित नेपाली र इटालीका राजदूतबीच पनि यस विषयमा छलफल भएको थियो ।

यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो । त्यसैगरी आर्थिक रूपमा टाँट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो ।

ठेकेदार कम्पनी सिएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार