धर्म वा अरु कुनै नाममा प्रतिगमन चाहनु दिवास्वप्न : पोख्रेल

  पहिलोपेज

 654 पटक हेरिएको

दाङ, १९ माघ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का अध्यक्ष विमल पोख्रेलले धर्म वा कुनै पनि बहानामा प्रतिगामी दिशातर्फ सोच्नु दिवास्वप्न भएको बताएका छन् । तत्कालीन राजाले शाही घोषणा गरेको ‘कालो दिन’को विरोधमा राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले भालुवाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले त्यस्तो धारणा राखेका हुन् ।

‘संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौ ! महङ्गी, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ भएको विरोध सभामा बोल्दै अध्यक्ष पोख्रेलले संघीयताकै कारण देशमा भ्रष्टाचार र अनियमितता बढेको बताए । उनले संघीयताकै कारण कर वृद्धि भएको र महङ्गी बढेको दावी गरे । उनले भने, ‘‘अहिलेको सरकारले जनताको कुनै काम गरेको छैन र यो जनताको सरकार पनि हुन सक्दैन ।’’

सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । सभालाई तराई मधेस जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य पूर्णिमा आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य कपिलदेव खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का जिल्ला अध्यक्ष हरि थापा लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

त्यसैगरी रक्तिम साँस्कृतिक अभियानका महासचिव नारायण योगी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष भानु जीएम, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सल्लाहकार कृष्ण गिरी लगायतको आतिथ्यता रहेको थियोे । जिल्ला सदस्य ठाकुर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पदम गोराथोकीले स्वागत रामकृष्ण आचार्यले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार