यस्तो खुशीको खबर : छोरी जन्माउनेलाई सरकारले गरिदिने भयो १ लाखको शिक्षा बिमा

  निरंजन साह

 1473 पटक हेरिएको

जनकपुरधाम, १० माघ । बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत प्रदेश नम्बर दुईको सरकारले छोरी जन्माउनेलाई १ लाख रुपैयाँको बिमा गर्ने भएको छ ।

बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु गरिएको छ ।

२० वर्ष उमेर पुगेपछि उनीहरुले सो रकम लिन सक्नेछन् । यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ ।

लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन् । छोरीको जन्ममा आमाबाबुसमेत खुशी नहुने अवस्था थियो । त्यही संस्कारलाई बदल्न प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि बढाएका हुन् ।

यो कार्यक्रम सुरु भइसकेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए । ६ वटा बैंक तथा २ वटा बिमा कम्पनीले प्रस्ताव हालेका थिए । तर, सबैको मूल्यांकन गरी प्रभु बैंक लिमिटेड जनकपुरधाम शाखालाई छनोट गरिएको मिश्रले बताए । बैंक छनोट भइसकेपछि अब शर्त प्रक्रिया तयार गर्ने काम भइरहेको र चाँडै नै बैंकसँग सम्झौता हुनेछ ।

प्रदेश नम्बर दुई छोरीको शिक्षामा निकै कमजोर रहेकाले त्यसमा सुधार गर्न यो योजना ल्याइएको हो । बिमा योजनाका लागि अभिमुखीकरण कार्यक्रम सुरु भइसकेको छ ।

पहिलो चरणमा यो योजना लागू गर्न नमूना स्थानीय तहको रुपमा पर्साको वीरगञ्ज महानगरपालिका, बाराको सुवर्णपुर गाउँपालिका, रौतहटको यमुनामाई नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिराहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकालाई छनोट गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार