विदेश जान नपाएर आगो बनेका सहसचिवद्वारा मन्त्रीमाथि यस्तो लाञ्छना

  पहिलोपेज

 1100 पटक हेरिएको

काठमाडौं, ८ माघ । विदेश भ्रमणमा जान नपाएपछि आगो बनेका सरकारका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री बिना मगरलाई विभिन्न लाञ्छना लगाएर प्रचारबाजीमा हिडेको तथ्य सार्वजनिक भएको छ । मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विदेश भ्रमण सम्बन्धी फाइल मन्त्रीज्यूले स्वीकृत नगरिदिएपछि मन्त्रीलाई विभिन्न लाञ्छना लगाएको बताइएको छ ।

‘‘विदेश भ्रमणसम्बन्धी फाइल मन्त्रीज्यूले स्वीकृत नगरिदिएपछि निजले मन्त्रीज्यूलाई उल्टै औंला ठड्याई कार्यालय बाहिर निस्किएको र यसको प्रतिशोधको रुपमा माननीय मन्त्रीज्यूलाई लाञ्छना लगाई अमर्यादितरुपमा मिडियाबाजी गर्दै अनुशासनहीन गतिविधि गरिरहेको हुँदा यस्ता भ्रामक समाचारको विश्वास नगर्न आम जनसमुदायमा अपिल गर्दछौं’’, विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको आयोजनामा सन् २०१९ को मार्च १८ तारिखदेखि जापानमा हुन लागेको कार्यक्रममा पाण्डेले आफ्नै निजी सक्रियतामा सहभागी हुनका लागि मन्त्रालयसमक्ष फाइल पेश गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरेको हुँदा उक्त फाइल स्वीकृत नगरिएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल सरकारको सहसचिव पदमा कार्यरत राजनराज पाण्डेले माननीय खानेपानी मन्त्रीको विषयमा व्यक्त गरेका अभिव्यक्तिप्रति मन्त्री मगरको निजी सचिवालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘‘सहसचिवजस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट यस किसिमका अभिव्यक्ति आउनु आफैंमा दुःखलाग्दो र लाजमर्दो कुरा हो’’, विज्ञप्तिमा भनिएको छ । सहसचिव पाण्डेले लगाएको आरोप पूर्वाग्रही र अनुशासनहीनताको पराकाष्ठा भएको मन्त्री मगरको निजी सचिवालयले जनाएको छ ।

आफूलाई जिम्मेवारी नदिइएको भनी सहसचिव पाण्डेले मिडियामा गरेको प्रचारबाजीलाई निजी सचिवालयले आफैंमा कपोलकल्पित र भ्रामक रहेको स्पष्ट पारेको छ । सहसचिव पाण्डेलाई नेपाल सरकारले प्रदेश नं. ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको तर, प्रदेश नंं. ७ को उक्त मन्त्रालयमा पाण्डेले संघीयता विरोधी कुरा गर्दै अन्य कर्मचारीहरुलाई समेत प्रदेश कार्यालयमा बस्न हुँदैन भन्दै भड्काउने गरेको विज्ञप्तिमा उल्लेख छ । ‘‘आफूले सचिवजस्तो महत्वपूर्ण पदको कुनै जिम्मेवारी नै बहन नगरेकोले प्रदेश नं. ७ को सरकारले सामान्य प्रशासन मन्त्रालयमार्फत गत भदौ महिनामा खानेपानी मन्त्रालयमा निजलाई फिर्ता पठाएको थियो’’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘‘निजको दरबन्दी मन्त्रालयमा नभएकाले यस मन्त्रालयमा निजको जिम्मेवारी तोक्न सकिने अवस्था थिएन ।’’ मन्त्रालय अन्तर्गतका अन्य निकायहरुमा शाखा तोक्न छलफल गर्दा सहसचिव पाण्डेले नमानेको कुरा स्पष्ट गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार