भ्रमण वर्ष २०२० सफल पार्न इजरायलका राजदूतले सक्दो पहल गर्ने

  पहिलोपेज

 586 पटक हेरिएको

काठमाडौं, ८ माघ । इजरायलका राजदूत बेनी ओमेरले नेपाल भ्रमण वर्ष २०२० लाई पूर्ण सफल पार्न आफूले सक्दो पहल गर्ने बताएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग आज शिष्टाचार भेटवार्ता गर्दै राजदूत ओमेरले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए ।

जलविद्युत, पूर्वाधार, पर्यटन र सुरक्षाको क्षेत्रमा तालिम तथा प्रविधिमा इजरायलको सहयोग तथा सहकार्यका लागि गृहमन्त्रीले राजदूतसँग आग्रह गरेका थिए ।

राजदूत ओमेरले नेपालसँग इजरायलको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै यसलाई थप उचाईमा लैजानुपर्ने बताएका थिए । उनले भने, ‘‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफूले सक्दो पहल गर्ने छु ।’’ राजदूत ओमेरले साना किसान बैंकसँगको सहकार्यमा प्रत्येक वर्ष ५ सय नेपाली कृषिसम्बन्धी तालिमका लागि इजरायल पुगेर सीप सिकेर फर्कने गरेको जानकारी दिँदै यसले नेपालको कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलिरहेको टिप्पणी गरे । भेटमा राजदुत ओमेरले गृहमन्त्री थापालाई इजरायल भ्रमणको निम्तो समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार