वर्तमान सरकारसँग कुनै स्पष्ट नीति नभएको महामन्त्री कोइरालाको आरोप

  निरंजन साह

 624 पटक हेरिएको

जनकपुरधाम, ७ माघ । प्रदेश नम्बर दुईको राजधानीमा सोमबार नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग कुनै स्पष्ट नीति नरहेको आरोप लगाएका छन् ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल काठमाडौंद्वारा धनुषाको ढल्केबरमा निर्माण गरिने शाखा भवनको शिलान्यास तथा अस्थायी आँखा उपचार केन्द्रको उदघाटन गर्न सोमबार जनकपुरधाम आएका महामन्त्री कोइरालाले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सरकार गठन भएको १० महिना बिते पनि सरकारले अहिलेसम्म कुनै ठोस योजना निर्माण गर्न नसकेको जिकिर गरे । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजे नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने चेतावनी समेत महामन्त्री कोइरालाले दिए ।

देशमा ४० बर्ष उमेर समूहका युवाहरुको संख्या ६० प्रतिशत भन्दा बढी रहेकाले अब युवाहरुले नै देश निर्माण गर्नसक्ने र उनीहरुका लागि सरकारले आरक्षणको ब्यबस्था गर्नुपर्ने आबश्यकता औंल्याए । महामन्त्री कोइरालाले पार्टीभित्र पनि विभिन्न विभागहरु गठन गरी युवाहरुलाई परिचालन गर्ने नेपाली कांग्रेसको आगामी योजना रहेको बताए । महामन्त्री कोइरालाले पार्टीभित्र छलफल गरेर चाँडै छायाँ सरकार चलाउने बताए ।

१६ औंपटक अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सरकारले बेवास्ता गरिरहेको भन्दै डा. केसीको सबै मागहरु तत्कालै पूरा गर्नुपर्ने आवश्यकता रहेको समेत महामन्त्री कोइरालाले बताए ।

फरक प्रसङ्गमा बोल्दै महामन्त्री कोइरालाले प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटना संघीयता विरोधी क्रियाकलाप रहेको बताए । महामन्त्री कोइरालाले देश धर्मनिरपेक्ष नभई धर्म स्वतन्त्र हुनुपर्ने नेपाली काँग्रेसको स्पष्ट धारणा रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार