कर्मचारी कुट्ने सरकार मधेश विरोधी रहेको कांग्रेस नेता यादवको आरोप

  निरंजन साह

 721 पटक हेरिएको

जनकपुरधाम, ६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले कर्मचारी कुट्ने सरकार मधेश विरोधी रहेको आरोप लगाएका छन् । प्रदेश नम्बर दुईका अर्थमन्त्री विजय यादवले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको विषयमा बोल्दै नेता यादवले त्यस्तो आरोप लगाएका हुन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ३ स्थित बनिगामा टोलको दिवस दीप दलित प्राथमिक विद्यालयमा आइतवार कम्बल वितरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले कर्मचारी कुट्ने सरकार मधेशी जनतालाई नचाहिने बताएका हुन् ।

‘लोकतन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउने अधिकार हुन्छ’, नेता यादवले भने, ‘तर प्रदेश नम्बर दुईका अर्थमन्त्रीज्यूले आफ्नो कुरा भनेकै कारण सचिवलाई कुटपिट गर्नु भएको हो । जबर्जस्ती लाद्न खोज्ने सरकार लोकतन्त्रमा किन चाहियो ?’

मन्त्रीले सचिवलाई कुटपिट गरेर कानुनी राज्यको धज्जी उडाउने काम गरेको भन्दै नेता यादवले नैतिकताको आधारमा पनि उनले पदबाट राजीनामा दिनुपर्ने बताए । ‘गणतन्त्रमा जनताको शासन हुन्छ, जनतामात्र होइन कर्मचारीलाई पनि कुटपिट गर्ने छुट कसैलाई छैन’, उनले प्रश्न गरे, ‘कर्मचारी कुट्ने अधिकार मन्त्रीलाई कसले दियो ?’

आफ्नै मन्त्रीले एक कर्मचारीलाई कुटपिट गरेपनि मुख्यमन्त्रीले हालसम्म केही गर्न नसकेर निरीहता प्रदर्शन गरेको नेता यादवको आरोप थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार