कांग्रेसका प्रमुख सचेतक खाँडद्वारा सचिव कुट्ने मन्त्रीलाई कारवाही गर्न माग

  निरंजन साह

 523 पटक हेरिएको

जनकपुरधाम, ६ माघ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रदेश नम्बर दुईमा सचिवमाथि कुटपिट गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

‘कर्मचारीले खराब काम गरे कानुनअनुसार कारबाही गर्ने व्यवस्था छ’, काठमाडौंस्थित नेपलिज फेसन होमले शनिबार धनुषाको लक्ष्मिनिया गाउँपालिकाको गजरियामा आयोजना गरेको कम्बल वितरण कार्यक्रममा बोल्दै खाँडले भने, ‘सचिवलाई मन्त्रीले कुटपिट गर्ने कार्यले लोकतन्त्रको उपहास गरेको छ । यस्तो मन्त्रीलाई कारबाही हुनु पर्यो ।’

‘प्रदेश नम्बर दुईको सरकारले हुकुमी शासन लाद्न खोजे जस्तो छ’, पूर्व रक्षामन्त्रीसमेत रहेका खाँडले भने, ‘जनताको शासनमा कर्मचारीमात्र होइन, कसैले कसैलाई कुटने अधिकार पाएको छैन । कुटपिट गर्ने मन्त्रीले सचिवको मानवअधिकार हनन् गरेका छन् ।’

राणातन्त्र, राजतन्त्रजस्ता तानाशाही शासनको अन्त्य भइसकेको स्मरण गराउँदै यस्तै व्यवहार रहे जनताले बाहिर फ्याँकिदिने खाँडको चेतावनी थियो । केपी ओली नेतृत्वको सरकारले जनताको मौलिक अधिकार संरक्षण गर्न नसकेको खाँडले आरोप लगाए । ‘प्रधानमन्त्रीज्यू उखानटुक्कामा व्यस्त हुनुहुन्छ । जनताका लागि सरकारले कुनै कार्यक्रम ल्याउन सकेको छैन’, खाणले भने, ‘प्रधानमन्त्रीज्यू उखानटुक्काले जनताको समस्या समाधान हुँदैन । जनतका लागि कार्यक्रम ल्याउनुस् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार