रञ्जु दर्शनाको चरित्र हत्या आरोपमा दुई सञ्चालक/सम्पादक गिरफ्तार

  पहिलोपेज

 570 पटक हेरिएको

काठमाडौं, ३ माघ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुनेगरी समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले २ जना पत्रकारलाई गिरफ्तार गरेको छ । प्रहरीले क्यापिटल हेडलाइन डटकमका सम्पादक सुमन अधिकारी र नेपालटक डटकमका सञ्चालक श्याम रोकालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा टेकुको टोलीले गोरखाको गण्डकी गाउँपालिका–३ का क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको हो । अधिकारी सम्पादक रहेको क्यापिटल हेडलाइनसहितका केही अनलाइनले नेतृ रञ्जुमाथि विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कार्यालयमै बलात्कार गर्न खोजेको भन्ने झुठो समाचार प्रकाशित गरेका थिए ।

सोही विषयमा केही दिन पहिले महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपाल टक डटकमका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार काठमाडौँको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

उनीहरुमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको बताइएको छ । विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रविन्द्र मिश्रले बलात्कार गर्न खोजेको भन्ने आशयको समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार