देशमा अशान्ति र अस्थिरता युगको अन्त्य : पूर्वप्रधानमन्त्री नेपाल

  पहिलोपेज

 367 पटक हेरिएको

भक्तपुर, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४औं वर्ष प्रवेश कार्यक्रममा बोल्दै नेपालले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताएका हुन् ।

दुई तिहाईको वर्तमान् सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताए । उनले देशको गरिबी र बेरोजगारीको चक्रव्यूहलाई अन्त्य गर्न सरकार सफल हुने बताउँदै उनले सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पुराउनु पर्नेमा जोड दिए ।

देशमा पर्यटन र कृषिको विकास गर्न सके आर्थिक विकासमा ठूलो टेवा पुग्ने चर्चा गर्दै उनले सरकारले अघि सारेको परिचय वितरण कार्यक्रमले धेरै समस्या समाधान गर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले पत्रकरिता क्षेत्र गलत ढंगले प्रयोग हुन थालेको चर्चा गर्दै उनले पत्रकारिताले समाजको चित्रण गर्नुपर्नेमा समाज परिवर्तनको काम गर्न थालेको बताए । पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा. गोविन्द केसीको माग, वाइडबडी जस्ता कुरामा गलत सन्देश जाँदा समाजमा नकारात्मक छाप बसेको उनको भनाई थियो ।

भक्तपुरको विकासमा अहिले पहिलाको भन्दा तीन गुणा बढी बजेट ल्याएर विकास निर्माणको काम तीब्र गतिमा भइरहेको बताउँदै उनले मिडियाले पूर्वाग्राही रुपमा गलत मिसन बनाएर जान नहुने धारणा राखे ।

त्यसअवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगरले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कानून खारेज गर्नुपर्ने बताए । समय समाज प्रकाशन प्रा.लि.का अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.लि.का सञ्चालक रामशरण देउजा, राजुराम मुनकर्मी, पत्रिकाका सम्पादक सोम शर्मा (बजगाई) ले समाजको यथार्थ चित्रण गर्दै यो पत्रिकाले सत्य र तथ्यमा आधारित रहेर पत्रकारिता अगाडि बढाएको बताए ।

कार्यक्रममा गोरखापत्र दैनिकका सम्वाददाता एवं नेपाल पत्रकार महासंघ गोरखापत्र शाखाका सचिव नगेन्द्र सापकोटालाई नगद रु. ५ हजारसहितको क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ । त्यसैगरी भक्तपुरमा रहेर निरन्तररुपमा पत्रकारिता गर्ने ३० वर्ष नाघेका दबाब साप्ताहिकका प्रकाशक, सम्पादक तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव अमर भुजु, नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका प्रकाशक, सम्पादक विकल श्रेष्ठ र धरहरा टाइम्स साप्ताहिकका प्रकाशक, सम्पादक रमेश खड्कालाई पत्रकारिता दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । त्यसैगरी समय समाजले बेवारिसे सडक मानवको उद्धार, उपचार र संरक्षणमा सक्रिय संस्था मानव कल्याण समाज (सेवा घर) लाई १० हजार रुपैयाँसहित प्रशंसापत्र र पत्रिका वितरकलाई नगदसहित प्रशंसापत्र वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार