सचिव झामाथिको आक्रमण अलोकतान्त्रिक : नेता जोशी

  निरंजन साह

 450 पटक हेरिएको

जनकपुरधाम, २ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रदेश नं. २ का उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिवमाथिको आक्रमण लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको बताएका छन् । राष्ट्रसेवक कर्मचारीको रक्षा गर्ने दायित्व लिएका सरकारका मन्त्रीबाट सचिवमाथिको आक्रमण संघीयता नै समाप्त गर्ने षडयन्त्र भएको उनले आरोप लगाए ।

नेपाल प्रेस युनियन धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता जोशीले प्रदेश नम्बर दुईका आर्थिक मामिला मन्त्री विजय यादवले आफ्नो नजिकका एनजिओलाई कार्यक्रम नपारेको भन्दै सचिवलाई हातपात गर्नु अलोकतान्त्रिक चरित्र भएको बताए । प्रजातन्त्रमा कसैको अभिव्यक्ति स्वतन्त्रता दबाउनका लागि हातपात गर्ने स्वतन्त्रता कसैलाई पनि नरहेको बताए । उनले भने ‘‘जसरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री यादवले सचिव विद्यानाथ झामाथि हातपात गरेका छन्, त्यो आपत्तिजनक छ ।’

देशमा संघीयता आइसकेपछि सबैको काँधमा संघीयता कार्यान्वयन गर्ने अभिभारा रहेकोले यस प्रकारको क्रियाकलापले संघीयतालाई खतरामा पुराएको उनको भनाई थियो । संघीयताको सवालमा प्रदेश र संघीय दुबै सरकार उदासीन रहेको नेता जोशीले आरोप लगाए । संघीय सरकार जसरी दमनकारी नीति लिएर अगाडि बढ्दैछ, ठीक त्यस्तै प्रदेश सरकार अगाडि बढिरहेकोमा उनले दुःख व्यक्त गरे ।

एक अर्को प्रसंगमा नेता जोशीले संघीय सरकारले कांग्रेस नेताहरुको नाउँमा रहेको अस्पतालको नाउँ परिवर्तन गर्न लागिपरेको भन्दै त्यस बिरुद्ध नेपाली कांग्रेसले कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले संघीय सरकार सबै क्षेत्रमा डर र त्रास फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाए । उनले भने ‘देशमा मिडियामाथि सेन्सर गर्ने प्रपञ्च भइरहेको छ । यसबिरुद्ध नेपाली कांग्रेस उभिएको छ ।’ नेता जोशीले देशमा कम्युनिष्ट सरकार रहेसम्म देशले दुःख पाइरहने दावी गरे । उनले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि कांग्रेस आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजनकुमार सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका धनुषाका सभापति महेशशंकर गिरीले नेपाली कांग्रेस प्रदेश नम्बर दुई सचिवमाथि भएको घटनालाई जोडका साथ उठाउने बताए । मन्त्रीद्वारा राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्नु निन्दनीय रहेको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उपसभापति सन्तोष यादव, सचिव विशेश्वर यादव, नेपाली कांग्रेसका नेता गणेश तिवारी, युवा नेता प्रफुल्लराज घिमिरे, प्रवेश चौधरीसहितका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार