पत्रकारहरुले साँचो र गलत छुट्याएर उचित मार्गदर्शन गर्नुपर्ने : प्रदेश प्रमुख कायस्थ

  निरंजन साह

 654 पटक हेरिएको

जनकपुरधाम, २८ पुस । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरुले सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाको १०औं साधारणसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश प्रमुख कायस्थले भने, ‘‘पत्रकारले साँचोलाई साँचो र गलतलाई गलत भनी उचित मार्गदर्शन गर्नुपर्छ ।’’

प्रमुख कायस्थले पत्रकारिताबिना लोकतान्त्रिक देशको विकास सम्भव नहुने बताउँदै पत्रकारिताको स्तरीयता कायम राख्न सुझाव समेत दिएका थिए । मुलुक नयाँ संरचनामा गइसकेकाले प्रदेश तथा स्थानीय सरकारलाई पत्रकारहरुले दिशानिर्देश गर्न समेत सुझाव दिए ।

असल, शिक्षित तथा बुद्धिजिवी पत्रकारहरुको पहिचान गरी खोजी पत्रकारितामा अग्रसर गराउनु पनि पत्रकार महासंघको दायित्व रहेको प्रदेश प्रमुख कायस्थले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले संघीयतालाई सबल बनाउनका लागि कलम चलाउन कुनै कञ्जुस्याई गर्न नहुने बताए । नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष उमेश साहले प्रत्येक वर्ष प्रदान गरिने ‘सहिद उमा सिंह राष्ट्रिय पुरस्कार’को घोषणा गरेका थिए । उक्त पुरस्कार १० हजार नगदसहितको हुनेछ ।

नेपाल प्रेस युनियन धनुषा शाखाका अध्यक्ष राजन सिंहले महासंघ व्यक्ति विशेषतर्फ गइरहेको तर्क राखेका थिए । प्रेस चौतारी धनुषा शाखाका पूर्वअध्यक्ष जगदीश साहले नेपाली पत्रकारितामा विकृति र विसंगति रहेको चर्चा गर्दै त्यसलाई सुधार्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष अशोक रौनियार, रामअसिश यादव, वरिष्ठ पत्रकार बिएम खनाल, नेपाल प्रेस युनियन धनुषाका पूर्वअध्यक्ष कमल साह, पत्रकार राम भारत साह, रामभरोस कापडी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार