थारू भेषभुषामा सजिएर खानेपानी मन्त्री मगरले प्रतिपक्षलाई यसो भनिन्

  पहिलोपेज

 2046 पटक हेरिएको

काठमाडौं, २७ पुस । खानेपानी मन्त्री बिना मगर थारु भेषभुषामा सजिएकी थिइन् । कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको ‘प्रथम बेलौरी माघी मेला’को उद्घाटन गर्न त्यहाँ पुगेकी मन्त्री मगरले थारु पहिरनमा सजिएर मन्तव्य राख्दै विकासको काममा प्रतिपक्षलाई समेत रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

खानेपानी मन्त्री मगरले विकासको काममा सबैको भूमिका अपरिहार्य भएको बताए । विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध पुराउन नहुने बताइन् । उनले थारू संस्कृतिको सम्बद्र्धन गर्न गाउँगाउँका बीचमा संस्कार तथा परम्पराहरुको आदानप्रदान हुनुपर्ने उल्लेख गरिन् । नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको बताउँदै मन्त्री मगरले घरआँगनमा सीमित भएको माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएकोमा प्रशन्नता व्यक्त गरिन् ।

कञ्चनपुर– १ को आफ्नै निर्वाचन क्षेत्रमा माघीमा रमाउन पुगेको बताउँदै मन्त्री मगरले चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परीक्षण र उपचारमा सरकार गम्भीर रहेको बताइन् । थारु पहिरनमै मञ्चमा पुगेकी मन्त्री मगरले माघी मेलाका अवसरमा आम नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।

थारूहरूको महान पर्व माघीको अवसरमा थारू कल्याणकारिणी सभा बेलौरी नगर समितिले आयोजना गरेको यस माघी मेला ३ दिनसम्म चल्नेछ । कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्य कुलवीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आव्हान गरेका थिए । ‘‘थारू एकता हमार शान : शिक्षा, भाषा सँस्कृति पौर्हैटी लैजीना हमार अभियान’’ भन्ने मूल नाराका साथ बेलौरीमा पहिलोपटक आयोजना गरिएको बृहत मेलामा जातीय पहिचान, भाषा, धर्म तथा सँस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले जानकारी गराएका थिए ।

मेलामा थारू खानाका परिकारहरु बंगुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, जाँडको झोल आदि राखिएका छन् । कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रहवा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको थियो । थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १० हजारभन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार