चिकित्सा शिक्षा विधेयकप्रति राष्ट्रिय जनमोर्चाको विमति

  पहिलोपेज

 556 पटक हेरिएको

काठमाडौं, २६ पुस । राष्ट्रिय जनमोर्चाले संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’प्रति विमति जनाएको छ । राष्ट्रिय जनमोर्चाका प्रवक्ता तथा सांसद दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गरी उक्त विधेयकप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको र त्यो विधेयकका कैयौं बुँदाहरु डा. गोविन्द केसीसित भएको सम्झौता तथा शिक्षा र चिकित्सासम्बन्धी राष्ट्रिय हितविपरीत भएको बताएकी छन् ।

‘‘सरकारले पहिले उक्त विषयमा सम्झौता गरेर त्यसका विपरीत विधेयक ल्याउनु धेरै आपत्तिजनक छन्’’, विज्ञप्तिमा भनिएको छ, ‘‘पछि शिक्षा तथा स्वास्थ्य समितिले त्यसका विपरीत विधेयक पारित गर्नु धेरै नै आपत्तिजनक र दुःखको कुरा हो । त्यसप्रति हाम्रो पार्टीले विरोध प्रकट गर्दछ ।’’

संसदमा प्रस्तुत भएको उक्त विधेयकमा आफूले कैयौँ संशोधनहरू प्रस्तुत गरेको उल्लेख गर्दै पछि उक्त विधेयकमा संशोधन हालेका सांसदहरूलाई बोलाएर छलफल गर्दा आफ्नो संशोधनहरूका पक्षमा विचार प्रकट गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘‘शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको विधेयक पहिले डा. केसीसित भएको सम्झौता र शिक्षा र चिकित्सासम्बन्धी राष्ट्रिय हित समेतका विरुद्ध छ’’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अब त्यो विधेयक पुनः संसदमा प्रस्तुत हुने र त्यो बेला डा. केसीसित भएको सम्झौता तथा शिक्षा र चिकित्सासम्बन्धी राष्ट्रिय हितका विपरीत सबै अवधारणाहरूलाई अस्वीकार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार