मेयर साहको विरुद्धमा ज्ञापनपत्र, पुस मसान्तसम्म माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

  निरंजन साह

 505 पटक हेरिएको

जनकपुरधाम, २५ पुस । प्रदेश नम्बर दुईको राजधानी जनकपुर जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँग असन्तुष्ट वडाध्यक्षले बुधबार १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा पुस मसान्तसम्म माग सम्बोधन नभए माघदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । जनकपुरधाम उपमहानगरपालिकाको कामकारबाहीसँग असन्तुष्ट १६ जना वडाध्यक्षहरुले प्रमुख कार्यकारी अधिकृत उमेश ढुंगानालाई ज्ञापनपत्र बुझाएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार अख्तियार विकेन्द्रीकरण नभएको हुनाले काम गर्न विभिन्न किसिमका कठिनाई भोग्नुपरेको ज्ञापनपत्रमा लेखिएको छ । ज्ञापनपत्रमा बढाइएको कर फिर्ता गर्न, वड़ाको दैनिक कार्य र भइपरी आउने कार्यका लागि स्वायत्तता दिन, कार्यपालिका बैठकमा आफ्ना एजेन्डा राख्न पाउने र छलफल गर्न पाउने अधिकार, कार्यपालिका बैठक पारदर्शी बनाउन सञ्चारकर्मी प्रवेशको व्यवस्था हुनुपर्ने, संवैधानिक प्रावधानअनुरूप बजेट विनियोजन हुनुपर्ने माग वडाध्यक्षहरुले राखेका हुन् ।

वडाको कार्यभारअनुसार कर्मचारी व्यवस्था, वार्षिक बजेटबारे सूचना पाउने अधिकार, बजेट बाँडफाँड हुँदा कार्यपालिकाको सहभागिता र बहुमतबाट पारित हुनुपर्ने, परिक्रमा क्षेत्रभित्र मदिरा बेचबिखन बन्द हुनुपर्ने, वडासमितिले गठन गर्ने समितिको जानकारी दिनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई पदमुक्त गरी नयाँ पिढ़ीलाई मौका दिनुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएका छन् ।

ज्ञापनपत्र बुझाउनेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का सत्ररोह साह, वडा नम्बर २ का शिवकुमार साह, वडा नम्बर ४ का सुदर्शन सिंह ,वडा नम्बर ५ का मनोजकुमार साह, वडा नम्बरका ६ जगरणाथ साह, वडा नम्बर का ७ जानकीराम साह, वडा नम्बर ८ रमेश ठाकुर, वडा नम्बर ९ का प्रमेश्वर साह, वडा नम्बर १० का मिथिलेश लाल कर्ण, वडा नम्बर ११ का रामचन्द्र साह, वडा नम्बर १२ का शत्रुधन यादव, वडा नम्बर १३ का सुभनरायन मंडल, वडा नम्बर १५ का अशोककुमार चौधरी, वडा नम्बर १६ का रामअशिस पजियार,वडा नम्बर २० का भोगेन्द्र झा र वडा नम्बर २४ का सत्यनारायण साह अध्यक्ष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार