मुख्यमन्त्री राउतलाई बुद्धका प्रबन्धक सिंहले हवाई उडानबारे गराए यस्तो ध्यानाकर्षण

  निरंजन साह

 674 पटक हेरिएको

जनकपुरधाम, २३ पुस । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई बुद्ध एयरका प्रबन्धक विजयप्रसाद सिंहले हवाई उडानबारे ध्यानाकर्षण गराएका छन् ।

बुद्ध एयरका प्रबन्धक विजयप्रसाद सिंहले एक ध्यानाकर्षण पत्र लेख्दै प्रदेशमा रहेको विभिन्न एयरपोर्टहरुमा इन्धन भर्ने सुविधाका साथै ती एयरपोर्टहरुको स्तरीयता राम्रो बनाउन सके रात्रिकालीन सेवा दिनसक्ने जानकारी गराएका हुन् ।

प्रदेशका विमानस्थलहरुमा इन्धन भर्ने सुविधा र रात्रिकालीन अवतरण गर्ने पूर्वाधार बनाउन प्रबन्धक सिंहले प्रदेश नम्बर दुईका मुख्यमन्त्री राउतलगायत प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय समेतको ध्यानाकर्षण गराएका हुन् ।

जनकपुरको एक परिचित समाजसेवी समेत रहेका सिंहले धार्मिक, पर्यटकीय लगायत विभिन्न कारणले महत्वपूर्ण क्षेत्रमा आवागमन सहज बनाउन ती विमानस्थलमा ठूल्ठूला विमान अवतरणका लागि इन्धन भर्नेजस्ता पूर्वाधार आवश्यक रहेको प्रदेश नम्बर दुई सरकारलाई सुझाव दिएका छन् ।

विमास्थलमा इन्धन भर्नेलगायतका पूर्वाधार बनेमा बुद्ध एयरले मार्च १ देखि राजविराज विमानस्थलमा एटिआर (७२ सिटे विमान) उडान सञ्चालन गर्ने सिंहले पत्रमा उल्लेख गरेका छन् । हाल जनकपुर विमानस्थलमा मात्र एटिआर उडान हुँदै आइरहेको छ ।

प्रदेश नम्बर दुईका जनकपुरधाम, राजविराज र सिमरामा विमानस्थल छन् । धेरै पुरानो विमानस्थल राजविराज केही महिनाअघिबाट पुनः सञ्चालनमा आएको हो । यी सबै विमानस्थलका माध्यमले दक्षिण सीमावर्ती भारतीय नागरिक र पूर्वी पहाड तथा हिमालयका जनतालाई हवाई सुविधा पुग्दै आइरहेको छ ।

सिंहले लेखेको पत्रमा रिफ्यूलिङको सुविधा भए जनकपुरधाम जस्तो क्षेत्रलाई पर्यटकीय हिसाबले झन मजबुत बनाउने प्रतिवद्धता समेत जाहेर गरिएको छ । जनकपुरमा पर्यटकको सँख्या झन बढाउनको लागि रात्रिकालीन हवाई उडान पनि आवश्यक रहेको तथा डोमेस्टिक उडानमै हवाईजहाज सँख्याको उडान अझ बढाउन सके धार्मिक पर्यकीय दृष्टिकोणले विश्वविख्यात हुने पनि दाबी गरेका छन् ।

मधेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा इन्धन भर्ने र रात्रिकालीन अवतरणको सुविधा नभएकाले हवाई सेवा प्रदायक कम्पनीहरू यी ठाउँमा ठूला विमान उडाउन मानेका छैनन् । विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा जहाजले क्षमता अनुसारको लोड बोक्न नपाउने भएका कारण भाडादर सस्तो नहुने सिंहले जानकारी दिएका हुन् । सिंहले आवश्यक पूर्वाधार स्थापना र सञ्चालनमा आए विमान कम्पनीहरूले नियमित उडान संख्या थप्ने र अन्य सेक्टरमा झैं प्रदेश नम्बर दुईमा हवाई भाडादर कम गर्ने बताएका छन् ।

अहिले मधेशको अस्थायी राजधानी जनकपुरधाम र बाराको सिमरा विमानस्थलमा यात्रुको चापको तुलनामा विमान उडान संख्या कम रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार