मलेसिया, २३ पुस। ‘मातृभूमिका लागि विश्वभरका रोल्पाली गोलबन्द होऔं’ भन्ने मूल नाराका साथ गठित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको प्रथम महाधिवेशन आगामी माघमा हुने भएको छ । आउँदो फेब्रुअरी १० अर्थात माघ २७ गते अधिवेशन क्वालालम्पुरमा आयोजना गर्ने समाजको आइतबार मलेसियामा सम्पन्न बैठकले निर्णय गरेको हो ।
समाजका मलेसिया शाखा अध्यक्ष राजकुमार बुढा मगरको अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष टोपबहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बोनम्यारो पीडित रोल्पाका प्रेमबहादुर पुनको उपचार र अवैधानिक रुपले मलेसियामा कार्यरत रहेकै बखत मृत्यु भएका रोल्पाकै नरबहादुर पुनको शव नेपाल पठाउँदा लाग्ने सहयोग रकम संकलनका लागि सम्पूर्ण नेपालीमा आव्हान गर्ने निर्णय समेत गरेको छ ।
बैठकले मलेसिया लगायतका मुलुकमा छरिएर रहेका सम्पूर्ण नेपालि मजदुरले भोग्नु परेका समस्याको निराकरणका लागि तत्पर रहन समाजमा आवद्ध सबै सदस्यलाई सचेत समेत गराएको समाजका सचिव अर्जुन घर्ती मगरले जानकारी दिए ।