शक्तिशाली सरकारका कायर सुसारेहरु

  उमेश बन्जाडे

 939 पटक हेरिएको

‘हाउ साथी ! यो त ज्याद्रै भो यार ! सरकारको विरोध गरेकोमा तपाइँले के पाउनुहुन्छ, र यतिविधि जोस्सिनु हुन्छ ? फेरि आफ्नै पृष्ठभूमिका मान्छेहरुकै शक्तिशाली सरकारको यतिसाह्रो खेदो खनेर के उपलब्धि हुन्छ ?’

माथि उल्लिखित ‘झोंक’ सरकार समर्थित एकजना परम मित्रले फेसबुक म्यासेन्जरमा प्रश्नको रुपमा मलाई टकार्नु भयो । म गहिरो साथित्वको विरोधी होइन । तर उनीहरुले उठाउन खोज्ने गलत परिणामको त भसक्कै दुश्मन । हनुमानगिरीको यो जमानामा मेरा मित्रको प्रश्न जस्ताको तस्तै तपाइँमाझ राखेको हुँ । ती मित्रले मलाई सरकार विरोधीको ट्याग त लगाए नै तर ‘तपाइँकै पृष्ठभूमिका मान्छेहरुको सरकार छ, किन विरोध गर्ने ?’ भनेर पनि सचेत गराए ।

तपाईँलाई शंका नलागोस्
कुनै बेला क्रान्तिको मसाल बोकेर, उन्मुक्तिका गगनभेदी नाराहरु लगाउँथे म पनि । त्यो सभ्यताको भूत अझै पनि जिउँदै छ मभित्र । बम, बारुदको गर्जन र गन्धलाई साथी बनाएको थिएँ मैले । उध्रिएका झुपडी र च्यातिएका मनहरुको सारथि बन्न आफ्नै रंगको दुनियाँमा अगुल्टो झोंसेको थिएँ । प्रतिगमनका दुश्चक्रहरु बेकामे पार्दै वर्गविहीन समाजको कल्पनामा उछिट्टिएको योद्धा हो म पनि । आवेगमा नआउँ । मैले मेरै वर्णन गर्न खोजेको कदापि होइन । यहाँनेर यो विषय किन जोडियो भने ती मित्रले मेरो पृष्ठभूमिलाई कोट्याए र आम पाठकवृन्दलाई थोरै इतिहास सम्झाउने प्रयत्न गरें । समग्रमा भन्दा ‘जनयुद्ध एउटा युग हो, र अहिलेका आंशिक परिवर्तनको कढी पनि ।’ मान्छेहरूको सवाल आआफ्नो ठाउँमा छ । बलिदानपूर्ण त्यो इतिहासको मान्यता समयले चाँदोमा चेप्टाएर राख्नेछ । सम्भवतः राजनीतिको सामान्य रसातल बुझेदेखि म हरेक सरकारको विपक्षीमै छु । जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा भने म उनको भयङ्कर समर्थक थिएँ । गणतन्त्र प्रवेश पछाडिका दिनमा ऊर्जामन्त्री शर्माजत्तिकै चित्तबुझ्दा कुनै सरकार या मन्त्री आएका छन÷छैनन् ? तपाइँ आफै अड्कल काट्नुस् ।

मेरा मित्रको प्रश्नतिरै लागौं । प्रश्नले म चकित भएँ । अचेलको भाइरल शब्द ‘मलाई ताजुव लाग्छ’ भन्ने युक्ति सम्झनामा आयो। आफूभित्रै मज्जाले घोत्लिएँ । आफ्नै जिन्दगी समेत धरौटी राखी बालुवामा पैसा केलाउन आएको मान्छेको यत्रो इज्जत ? होइन होइन, यतिका बेइज्जत ! तोइट यो त झन गलत सोंचियो ! थामी नसक्नु समृद्धिको पाटोमा होमिएको सरकारलाई मैले दुरदेशबाट फेसबुकमा टाँसेका सिकारु अक्षरहरुको यत्रो प्रभाव ? त्यो पनि होइन ! आखिर हो चैं के त ? ‘सुसारेहरुको चित्त दुखाई’ यही नै थियो मेरो अन्तिम निष्कर्ष । फेरि ती मित्रलाई जवाफ पनि त दिनै पर्यो । जवाफ फर्काएँ । रुष्ट होलान् कि भन्ने चिन्ता उस्तै । नफर्काउनु त मित्रको मस्तिष्कमा आफू गलत ठहरिने त्रास । फेरि मनमा लागेको कुरा फ्याट्ट फुस्काइहाल्ने स्वभाव मभित्र अल्लि बढी नै हावी छ ।

जवाफ फर्काउन मैले ढिला गरिन । ‘भ्रष्टहरुले हामीलाई भेडाबाख्राझैँ टाट्नामा बाँधेर हरियो घाँस हाल्छन । हामी नतमस्तक हुँदै पाउर लगाएर उनकै जयजयकार गर्छौं । विरोध सरकारको होइन बरु लोक नै लाजले भुतुक्कै हुनेगरी देखिएका सरकारी कार्यशैलीको हो । सामाजिक सुरक्षा ऐनको विरोध गरिएको हो ? (सायद हैन ! सरकारको हर कामको विरोध गर्नैपर्छ ? पर्दैन ! पत्याउनु भएन ? विगत बिर्सनुभो ? हेर्नुस् त (रेल, तेल, जहाज, रकेट, भत्ता, ग्याँस, सुन हुँदै निर्मला हत्याकाण्डदेखि वाइडबडी काण्डसम्म ! यी त छचल्किएका उदाहरण मात्रै हुन् । अरु आफै थप्दै जानोस् । यहाँ त बिरोध बाध्यता बन्यो हजूर अनि आक्रोश साथी ।

त्यसपछि ती मित्र अहिलेसम्म सम्पर्कमा आएका छैनन् । शायद सत्यतथ्य पचाउन गाह्रो मानेका हुनसक्छन् । यी पंक्तिहरुमा आँखा दौडाउने अवसर मिलेमा, तपाईंलाई धैर्यधारण गर्नसक्ने आँट यसै शक्तिशाली सरकारले प्रदान गरोस् भनी कामना गर्दछु ।

वास्तवमा सत्ता वियोगको पीडामा भावविह्वल बनेर ताण्डव मच्चाउँदै कमाएको गुइँठे राष्ट्रवाद उसैका प्रतिपादकले निधारमै तुक्र्याएर अवशेष समेत नरहने गरी सिध्याउँदै छन् । जसरी जनयुद्धका सपनाको व्यापार गरेर उसका साहुहरु बार्दलीमा जितौरी धन गनेर बसिरहेका छन् ।

राष्ट्रवाद र क्रान्तिकारीको फ्युजनले देशलाई कता दिशानिर्देश गर्दैछ भनेर त आम गतिविधिले सुचित गरेकै छ । यद्यपि देश डामाडोल पारेर अवशेष कोट्याउने सुसारेहरुको चरित्रले हामीलाई अनन्त ओरालोतर्फ धकेलिरहेको छ । भ्रष्ट र नैतिकहीन नेताहरुलाई गलत दिशा समात्न ऊर्जा प्रदान गरिरहेको छ ।

अन्तमा, तपाईंलाई लाग्ला ‘कस्तो असत्ती मान्छे’ परम मित्र पनि भन्छ र यसरी साथीकै बेइज्जत गर्छ ।’ हो, मैले त ठोक्दिएँ, मिडियाबाजी नै गरें । एउटा असल साथीको गुनासोलाई शीर्षक बनाएर अलिकति कुण्ठित भावनाहरु तपाइँमाझ पस्किएँ । म मान्छु यत्ति बुझेर मेरो अगाडि प्रश्नचिन्ह उभ्याउने अधिकार तपाइँमा छ । परन्तु भ्रष्टाचार र घुसखोरी प्रवृतिको विरुद्ध लड्नुपर्ने युवाहरुलाई उसैको सुसारमा लिप्त हुनुपर्ने जरुरी छैन । मलाई माफ गर मेरो मित्र, अनियमितताको गगनचुम्बी पहाड खडा भइसक्दा पनि ‘भ्यू टावर’ बनाउन तल्लीन ‘दुनियाँकै निकम्मा शक्तिशाली सरकार’को पक्षपाति म कदापि हुन सक्दैन । बरु यत्रो शक्तिशाली सरकारको कायर सुसारे भएर नबस । आऊ ! बरु हामी मिलेरै यो देशका गलत प्रवृत्तिको थुतुनोमा अगुल्टो झोसौं ।

लमही, दाङ, हालः परदेश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार