जनकपुरधाममा नयाँ वर्ष २०१९ मनाउन भारतीय पर्यटकहरुको घुइँचो

  निरंजन साह

 737 पटक हेरिएको

जनकपुरधाम, १८ पुस । प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाममा नयाँ वर्ष २०१९ मनाउन भारतीय पर्यटकहरुको घुइँचो लागेको छ ।

पछिल्ला केही वर्षयता भारतीय पर्यटकहरुका लागि नयाँ वर्ष मनाउन जनकपुर लोकप्रिय गन्तव्य बन्दै आएको छ ।

विगतका वर्षहरुझैँ यसपटक पनि ठूलो संख्यामा भारतीय पर्यटकहरु जनकपुर आएका हुन् । विशेषगरी जानकी मन्दिर, राम मन्दिर एयरपोर्ट, पनिपाल, मत्सय, धनुषाधाम लगायतका क्षेत्रहरुमा भारतीय पर्यटकहरुको बढी भीड देखिएको छ ।

नयाँ वर्षको पहिलो दिन जानकी मन्दिर र राम मन्दिरमा पूजाअर्चना गर्न ठूलो संख्यामा भारतीय पर्यटकहरुका भीड देखिएको थियो । यसका साथै यहाँका होटल र रेस्टुराँहरु समेत भारतीय पर्यटकहरुले भरिभराउ रहेको छ । नयाँ वर्षको अवसरमा अधिकांश भारतको विहार र झारखण्ड राज्यबाट पर्यटकहरु जनकपुर पुग्ने गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पछिल्लोपटक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भ्रमण गरेपछि जनकपुर पुग्ने भारतीय पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको यहाँका व्यवसायीहरु बताउँछन् । यसअघि पनि नयाँ वर्षको अवसर पारेर भारतीय पर्यटकहरु जनकपुर आउने गरे पनि मोदी र योगीको भ्रमणपछि यो संख्यामा वृद्धि भएको स्थानीय होटल व्यवसायीहरुको भनाइ रहेको छ ।

नयाँ वर्ष मनाउन एकदिन अगावै कतिपय भारतीय पर्यटक जनकपुर पुगेको होटल व्यवसायीहरु बताउँछन् । एक दिन अगावै जनकपुर पुग्नेहरुमा अधिकांश युवा पुस्ता रहेको एक होटल व्यवसायीले बताए ।

भारतको विहार सरकारले मदिरा सेवन र बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि नयाँ वर्ष मनाउन त्यहाँका युवाहरुका लागि जनकपुर आकर्षक गन्तव्य बनेको छ । मदिरा प्रतिबन्धित भएपछि सीमावर्ती क्षेत्रसँगै विहारको विभिन्न स्थानबाट आउने पर्यटकहरुले नयाँ वर्षमा होटल तथा रेस्टुराँहरु भरिभराउ रहेका छन् ।

नयाँ वर्ष मनाउन विहारको दरभंगा, सीतामढी, मधुबनी, मुजफ्फरपुरलगायतका स्थानबाट भारतीय पर्यटकहरु जनकपुर पुगेका छन् । जानकी मन्दिर र राम मन्दिरमा पूजाअर्चना गरेर नयाँ वर्षलाई स्वागत गर्न जनकपुर पुगेको परिवारसहित आएका दैनिक जागरण सितामढी ब्यूरो चिफ रविभूषण सिन्हाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार