विप्लवको विद्यार्थी समूहमा विद्रोह, २२ जनालाई अध्यक्ष प्रचण्डले गराए प्रवेश

  पहिलोपेज

 686 पटक हेरिएको

काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर जान लागेको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट विद्रोह गरी नेकपामा आउने नेता तथा कार्यकर्ताहरुलाई खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी नयाँ बाटोमा भए पनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन । उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ । त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’

अध्यक्ष प्रचण्डले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताए । प्राप्त उपलब्धि सानो र सजिलो गरी नभई हजारौको बलिदानबाट भएको उनको भनाई थियो । अध्यक्षले प्रचण्डले भने, ‘समाजवादको यात्रा महान् गम्भीर र लामो यात्रा हो । यसका लागि व्यापक एकताको खाँचो पर्छ । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं ती सबै शक्ति एकपल्ट एकजुट हुन जरुरी छ । तपाईहरु आउनुभएको छ । एउटा ईंटा थप्ने काम भएको छ ।’

कार्यक्रममा विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जना नेता तथा कार्यकर्ताहरुलाई अध्यक्षले अबिर र खादा लगाई पार्टीमा प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष प्रचण्डको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वाससहित पार्टीमा प्रवेश गरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार