सार्वभौमिकता जोगाउन दलहरुसँग श्री ५ वीरेन्द्रको साझेदारी : कमल थापा

  पहिलोपेज

 710 पटक हेरिएको

काठमाडौं, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको इतिहासमा राजा पृथ्वीनारायण शाह, राजा महेन्द्र र राजा वीरेन्द्रको शासनकालको उचित मूल्यांकनबाट नै शाहवंशीय राजाहरुको मूल्यांकनको आधार मान्नुपर्ने बताएका छन् । स्व. राजा वीरेन्द्रको शुभजन्मोत्वको अवसरमा नेपाल प्राज्ञिक परिषदद्वारा आयोजित ‘‘श्री ५ वीरेन्द्रः एक बहुआयामिक व्यक्तित्व’’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र मुलुकको सुरक्षा कवचको रुपमा अघि सारेको शान्ति क्षेत्रको प्रस्तावले समग्र देश र जनताप्रतिको उत्तरदायित्वको पुष्टि भएको उल्लेख गरे ।

अध्यक्ष थापाले नेपाललाई शान्ति क्षेत्र प्रस्ताव राख्नु, २०४६ को जनआन्दोलन ताका विदेशीले ल्याएको राष्ट्रघाती सन्धिको प्रस्तावलाई ठाडै अस्वीकार गरी देशभित्रका राजनीतिक दलहरुसँग सम्झौता गरेर बहुदलीय व्यवस्थाको पुनस्र्थापना गर्नु लगायतका दुरदर्शी सोचका साथ देशको वृहत्तर हितका लागि स्व. वीरेन्द्रबाट भएका कार्यहरु अविष्मरणीय रहेको विचार व्यक्त गरे ।

तत्कालीन अवस्थामा राष्ट्रिय सुरक्षा तथा प्राकृतिक सम्पदामाथि संकुचन हुने भारतको प्रस्तावलाई श्री ५ वीरेन्द्रबाट स्वीकार भएको भए आज हामी ‘नेपाली हौं’ भनेर शीर ठाडो पार्नसक्ने हैसियतसम्म हुँदैनथ्यो भन्दै अध्यक्ष थापाले मुलुकको स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति चिन्तित स्व. वीरेन्द्रबाट मुलुकमै क्रियाशील राजनीतिक दलहरुसँग वार्ता गरी बहुदलीय व्यवस्था पुनस्र्थापना गरेर जनभावनाको कदर गरेको इतिहासको स्मरण गरे ।

२०४६ सालको जनआन्दोलनको समयमा भारतले लगाएको आर्थिक नाकाबन्दीताका स्व. राजा वीरेन्द्रले तत्कालीन मन्त्रीपरिषदलाई “कम्तीमा ३ महिनासम्म पुग्ने अत्यावश्यक सामग्रीको भण्डारण गर्न, नुन तेल जस्ता भारतबाट मात्र आयात हुने सामग्रीहरुलाई अन्यत्रबाट ल्याउन समेत पहल गर्न” भएको निर्देशनको स्मरण गर्दै अध्यक्ष थापाले सोहीअनुसार २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा आफ्नै पहलमा चीनसँग व्यापार तथा पारवहन सन्धि गरेको बताए ।

नेपालको इतिहासमा दुरगामी सोच राखेर शासनसत्ता सञ्चालन गर्ने श्री ५ पृथ्वी नारायण शाह, श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रको राष्ट्रवादी चिन्तनको जति व्याख्या गरे पनि अपुरो रहने विचार पनि व्यक्त गरे । यस्ता राष्ट्रवादी व्यक्तित्वहरुको वर्षमा १ दिन पनि सम्झना गर्न राजनीतिक दलहरुले तदारुकता नदेखाएकोप्रति उनले दुःख व्यक्त गरे । पूर्वउपप्रधानमन्त्री थापाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मानमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मान्यता दिई सो दिन सार्वजनिक बिदा दिन समेत सरकारसँग जोडदार माग गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले देश बनाउन र बचाउन श्री ५ पृथ्वी नारायण शाह, श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रबाट भएका कार्यहरुको बयान शब्दमा गर्न नसकिने बताए । पूर्व राजाहरुले आफूलाई राजाभन्दा माथि उभ्याएर देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डताको संरक्षण गर्न अहम् भूमिका निर्वाह गरेको बिचार व्यक्त गरे । २०४६ को जनआन्दोलनको क्रममा श्री ५ वीरेन्द्रबाट जनभावना अनुरुप बहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेर उच्च कार्य भएको स्मरण गर्दै मैनालीले घुमाउरो भाषामा ०६२÷६३ को आन्दोलनको माग राजसंस्था हटाउने भन्ने नरहेको बताए । यदि आन्दोलनको माग राजसंस्था हटाउनु नै थियो भने तत्कालीन विधानमा ‘राजाको छोरामात्र हैन छोरीले पनि उत्तराधिकारी हुन पाउनुपर्छ’ भन्ने शब्द अटाउँदैन थियो होला भन्दै उनले राजसंस्थाको अन्त्य हुनुमा जन आन्दोलनको माग नभई अन्य केही स्वार्थ भएकोतर्फ इंगित गरे ।

कार्यक्रममा सम्बोधन गर्दै राप्रपाका बरिष्ठ नेता बुद्धिमान तामाङले स्व. राजा वीरेन्द्र जनचाहनाअनुसार अगाडि बढ्ने, प्रजातन्त्रवादी राजा भएको चर्चा गरे । कार्यक्रममा अ.प्रा. उपरथी टीका धमला, डा. निश्चलनाथ पाण्डे लगायतले स्व. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गरे । नेपाल प्राज्ञिक परिषदका अध्यक्ष प्राडा जयन्तनाथ खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रा. इन्दिरा मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार