अमेरिकामा पहिलो नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीलाई पाँचौंपटक सुपर लयरको उपाधि

  पहिलोपेज

 836 पटक हेरिएको

काठमाडौं, १० पुस । तीनदशक भन्दा लामो समयदेखि अमेरिकामा कानुन व्यवसायमा सक्रिय रहेका नेपाली मूलका पहिलो कानुन व्यवसायी खगेन्द्र जीसी पाँचौंपटक सुपरलयर छानिएका छन् । कानुन व्यवसायीहरुको रेटिङ गर्दै आएको अमेरिकाको चर्चित सुपर लयर्स नामको रेटिङ कम्पनीले जीसीलाई सन् २०१४ देखि लगातार सुपरलयरको रेटिङमा राख्दै आएको छ ।

थोम्सन रोयटर्सले सञ्चालन गरेको सुपर लयर्सले कानुनका क्षेत्रमा अभ्यास गर्ने विभिन्न ७० वटा कानुन व्यवसायीहरुको रेटिङ गर्दै आएको छ । सुपर लयर्सले प्रकाशित गर्ने म्यागेजिनमा छानिएका कानुन व्यवसायीहरुको प्रोफाइल समेत प्रकाशित गर्दछ । सुपरलयर्समा छानिन तेस्रो पार्टीले नोमिनेट गर्नुपर्ने प्रावधान हुन्छ । कानुन व्यवसायी आफैले आफैलाई नोमिनेट गर्न पाइँदैन । सुपर लयर्सको शोध समूहले पत्ता लगाएमा त्यो समूहले कानुन व्यवसायीलाई नोमिनेट गर्छ । यसरी विभिन्न चारवटा चरणपछि सुपरलयर्स छान्ने गरिन्छ । नोमिनेशनमा परेका कूल लयर्समध्ये ५ प्रतिशतलाई सुपर लयर्स र २ दशमलव ५ प्रतिशतलाई राइजिङ स्टार्स छान्ने गरिएको कम्पनीले जनाएको छ ।

सुपर लयरमा छानिएका नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीले सन् १९८७ मा कानुन व्यवसायीको लाइन्सेस प्राप्त गरेका थिए । त्यसयता उनले हजारौं ग्रिनकार्ड र भिसाहरु स्वीकृत गराइसकेका छन् । जीसीको न्युयोर्कमा क्षेत्री एण्ड एसोसिएट्स सञ्चालनमा रहेको छ । नेपाल सरकारका लागि विश्वभरबाट एकमात्र एनआरएन सल्लाहकार रहेका जीसी एनआरएन आइसीसीको नागरिकताको निरन्तरतासम्बन्धी टास्कफोर्सका को–चेयर समेत हुन् । सन् २०१४ मा जीसी एनआरएन अमेरिकाको अध्यक्षमा निर्वाचित समेत भएका थिए । अमेरिकामा वकालत गर्ने उनी पहिलो नेपाली वकिल हुन् । जीसी लामो समयदेखि सामाजिक सेवामा पनि उत्तिकै सक्रिय भएर लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार