नेकपाका नेताले बल्ल भेटे केन्द्रीय कार्यालय, सुनसान धुम्बाराहीमा स्थायी कमिटी बैठक

  पहिलोपेज

 515 पटक हेरिएको

काठमाडौं, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले बल्ल आफ्नो केन्द्रीय कार्यालय भेटेका छन् । पार्टीले प्रचण्ड दुईतिहाई बहुमतको सरकार हाँकिरहेको बेला सुनसान र निरस लाग्ने धुम्बाराहीमा आज भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शुरु भएको छ ।

बैठक दिउँसो १ बजेदेखि सुरु भएको छ । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने, सरकारको कामकारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको कडा आलोचना भएको थियो । स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ ।

प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुराउने पनि अपेक्षा लिइएको छ । यसैबीच आजै बिहान नेकपाको सचिवालय बैठक बसेको छ । बैठकमा दुई अध्यक्षले स्थायी कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनका विषयमा छलफल भएको बताइएको छ । प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजना समेटिएको नेकपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार