नक्कली नागरिकता बनाउने गिरोह जनकपुरमा यसरी पर्यो प्रहरीको फन्दामा

  निरंजन साह

 658 पटक हेरिएको

जनकपुरधाम, २८ मंसिर । प्रदेश नम्बर दुईको जनकपुरमा नक्कली नागरिकता बनाउने कार्यमा सक्रिय रहेको एक गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको एक कर्मचारीको सहयोगमा चारजनाले नक्कली नागरिकता बनाउने काम गरिरहेको खुलेको छ ।

विगत ०६३÷६४ सालमा सरकारले वितरण गरेको नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केही कागजात, दर्जनौँ नेपाली नागरिकता र डेढ लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाका ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका वडा नम्बर ५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर–४ बस्ने हेमन्तकुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डललाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये रोशनकुमार चौधरीको जनकपुरस्थित डेरामा सुराकीको आधारमा प्रहरीले छापा मार्दा उनको कोठाबाट विभिन्न व्यक्तिको दर्जनौँ नक्कली नेपाली नागरिकता, विवाह दर्ता, जन्मदर्ता, मृत्युदर्ता, बसाईसराईको प्रमाणसहितको विभिन्न ठेली, सादा नाम नभरेको नेपाली नागरिकता, नेपाली नागरिकतामा टाँस हुने हेलोग्रामको लोगो, जिल्ला प्रशासन कार्यालयको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जिकाधिकारीको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाध्यक्षको छाप, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने हेलोग्राम, नागरिकता विवरणको ठेली, मोबाइल एक थान, १ लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतबाट सरकारी दस्तखतको छाप कीर्ते र नागरिकता मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेकोले पक्राउ गर्ने अनुमति लिई थप अनुसन्धानको कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले २०६३ मुलुकी फौजदारी, ऐन अन्तर्गत कारवाही हुने तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार