मलेसियामा झुठो मुद्दामा जेल परेका नेपाली मजदुरको उद्धार

  उमेश बन्जाडे

 787 पटक हेरिएको

मलेसिया (क्वालालाम्पुर), २७ मङ्सिर । लागू औषध कारोबारको झुठो अभियोगमा जेल परेका एक नेपाली युवकको मलेसियाबाट उद्धार गरिएको छ । २०७२ साल माघमा रोजगारीका लागि मलेसिया पुगेका राप्ती नगरपालिका ४ चितवनका सागर गुरुङ गत अप्रिल महिनामा जेल परेका थिए ।

निर्दोष हुँदाहुँदै पनि मलेसियाली लागू औषध कारोबारीहरुको षड्यन्त्रमा झुठो मुद्धामा सजाय भुक्तानी गरिरहेका गुरुङलाई मलेसिया प्रशासनले अनुसन्धानका क्रममा निर्दोष सावित गरेको हो । गुरुङ जेलमुक्त भएपनि आवश्यक कागजात र आर्थिक अभावले गर्दा मलेसियामै अलपत्र अवस्थामा रहेको जानकारी पीडितकी श्रीमती अनुषा गुरुङले अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजमा पुराइदिन स्थानीय भोम्ले पुन र दीपक गुरुङलाई अनुरोध गरेकी थिइन् ।

आफूहरुले अलपत्र परेको खबर पाउना साथ मलेसियास्थित नेपाली राजदूतावाससँग सहकार्य गरेर पीडित गुरुङको उद्धार गरेको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका सचिव अर्जुन घर्तीमगरले जानकारी दिए ।

पीडित गुरुङ सम्पूर्ण तयारीका साथ आज बिहीवार नै नेपाल फर्किन लागेको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका अध्यक्ष राजकुमार बुढाले जानकारी दिए । लागू औषध कारोबारको अभियोग लागेकालाई मलेसियामा हदैसम्मको कारबाही हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार