सिके राउतलाई ६१ दिनको हिरासतपछि किन गरियो जेल चलान ?

  पहिलोपेज

 1072 पटक हेरिएको

काठमाडौं, २७ मंसिर । स्वतन्त्र मधेस गठवन्धनका नेता डा. सिके राउतलाई ६१ दिनको हिरासतपछि पुर्पक्षका लागि जिल्ला कारागार रौतहट पठाइएको छ । उनलाई मंसिर २० गते कारागार चलान गरिएको गठवन्धनका प्रवक्ता अब्दुल खानले जनाएका छन् ।

प्रवक्ता खानले ६१ दिनसम्म गैरन्यायिक, गैरसंवैधानिक, गैरकानुनी एवं गैरलोकतान्त्रिक हिरासतमा राखिएको दावी गरेका छन् । गत असोज २१ गते नियमित तारिखका लागि जिल्ला अदालत रौतहट पुगेका राउत ४ वर्षकी छोरी रेवती राउतसहित पक्राउ पुर्जीबिना नै गैरकानुनी तरिकाले अदालत परिसरबाटै नियन्त्रणमा लिइएको प्रवक्ता खानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राउतसँगै नाराबाजीमा संलग्नता जनाएको भन्दै गिरफतार गरिएका ४ जना समर्थकलाई साधारण तारिखमा रिहा गरिएको थियो ।

विगत एक वर्षभन्दा बढी समयसम्म नवलपरासी नगएका राउतलाई नवलपरासी र धनुषा जिल्लामा समेत राजद्रोहको मुद्दा लगाई पक्राउ पूर्जी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । राज्य विरुद्धको अपराध भनी यस्ता ११ मुद्दाहरु दायर गरिएको र प्रायःजसोमा राउतको कुनै पनि संलग्नता नरहेको दावी गरिएको छ ।

यसबाहेक दर्जनौंपटक गैरन्यायिक तवरले राउतलाई पक्रदै छाड्दै गर्नुका साथै राउत बस्ने घरलाई बिगत ३ वर्षदेखि २४सै घण्टा निगरानीमा राखी घरमैं अघोषित कैदी बनाइएको दावी पनि विज्ञप्तिमा गरिएको छ । उनीमाथि लगाइएका ११ मुद्दामध्ये ५ राजद्रोहको मुद्दामा विशेष अदालतले नै सफाई दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सिके राउतको दुबै किड्नीमा ११ मिमिको ढुंगा भएकोले डाक्टरले १÷२ हप्ताको अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्ने सुझाएको तर नेपाल सरकारले तत्कालै गर्नुपर्ने उपचार गराउन पनि लापरवाही गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा राउतका एक समर्थक राममनोहर यादवको हिरासतमै हत्या गरिएको दावी गर्दै उनको परिवारले अहिलेसम्म लास प्राप्त नगरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार