मिथिलावासी महोत्सवका रुपमा मनाउँदै जनकनन्दिनी सीताको विवाहोत्सव

  निरंजन साह

 496 पटक हेरिएको

जनकपुधाम, २६ मंसिर । धार्मिक विश्वासअनुसार बुधबार जनकपुरमा विवाहपञ्चमीमा सीतारामको स्वयम्बरपछि विवाह गरी मनाइँदैछ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट दुई दिनअघि नै मित्रराष्ट्र भारतको अयोध्याबाट जन्ती आइसेकेका छन् । यसपटक जन्तीमा उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । मुख्यमन्त्री योगी बुधबार बिहान ११ बजे भारतको उतर प्रदेशको लखनउबाट बुलेट प्रुफ बिमानबाट जनकपुरको एयरपोर्टमा उत्रिने छन् ।

मुख्यमन्त्री योगीको स्वागतका लागि प्रदेश नम्बर नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल लगायत प्रदेश नम्बर दुईका सत्तारुढ दल राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजकिशोर यादव, जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह लगायत जनकपुर बिमानस्थलमा जाने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री योगीलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेस भवनमा स्वागत गरिने छ । प्राचीन ऐतिहासिक परम्पराअनुसार भगवान रामको नगर भारतको अयोध्याबाट जन्ती पहिलोपटक जनकपुर आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई संघीय सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको अगुवाइमा बिमानस्थलबाट स्वागत गर्दै जानकी मन्दिरमा दर्शन, पूजा अर्चना गरी मधेश भवनमा ल्याउने कार्यक्रम रहेका छन् ।

योगी जानकी मन्दिरमा पूजा अर्चनापश्चात मधेश भवनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सरिक हुनेछन् । मधेश भवनमा योगीसँगै अन्य जन्तीलाई अङ्गवस्त्र भेटबाट स्वागत गरिने छ भने मुख्यमन्त्री योगीलाई कदरपत्रबाट सम्मान गरिने कार्यक्रम रहेको छ । कार्यक्रम समापनपछि जन्ती आएका साधुसन्तलाई ३६ परिकारबाट बनाइएका ५६ भोगको भोजन ग्रहण गराइने छ ।

त्यसपछि बाह्रबिघा रङ्गभूमि मैदानमा आयोजना गरिएको सीतारामको स्वयम्बरमा सहभागी भई योगी दिउँसो ४ बजे फर्किने कार्यक्रम रहेको मन्त्री सोनलले जानकारी दिएका छन् । त्यसअघि प्रदेश सरकारले आयोजना गरेको भण्डारा कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम पनि तय भएको छ ।

यस विवाहपञ्चमी महोत्सवमा सहभागी हुन अहिलेसम्म अन्दाजी ७ लाख भक्तजनको घुइँचो लागेको छ भने भीड बढ्ने क्रम भने जारी नै रहेको छ । धनुषा र महोत्तरीको नाकाबाट श्रद्धालुभक्तजन तथा तीर्थालुको आउने क्रम जारी नै छ । मङ्गलवारदेखि नै भक्तजनको आउने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार