मसालले गर्यो एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको कडा विरोध

  पहिलोपेज

 775 पटक हेरिएको

काठमाडौं, २५ मंसिर । नेकपा (मसाल)ले ‘एसिया प्यासिफिक समिट’मा नेपाल सरकारको सहभागितालाई कडा शव्दमा विरोध र भत्र्सना गरेको छ । महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘त्यो संस्था अन्तर्राष्ट्रिय जगतमा धेरै नै विवादग्रस्त र बदनाम इसाई धर्मको प्रचार गर्ने संस्था हो ।’’

‘‘कुनै पनि व्यक्तिको आफ्नो आस्थाअनुसार कुनै पनि धर्मलाई अपनाउने वा परित्याग गर्ने व्यक्तिगत स्वतन्त्रतालाई हामीले विरोध गर्दैनौँ’’, विज्ञप्तिमा भनिएको छ, ‘‘तर त्यो संस्थाले इसाई धर्मको प्रचारद्वारा साम्राज्यवादको सेवा गर्ने काम गरिरहेको छ । नेपाल जस्तो संविधानमा नै धर्मनिरपेक्ष सिद्धान्तलाई अपनाएको देशको सरकार त्यस प्रकारको विवादग्रस्त र बदनाम धार्मिक संस्थाको कार्यक्रममा सहभागी वा सहआयोजक समेत हुनु अत्यन्त आपत्तिजनक कार्य हो ।’’ विज्ञप्तिमा त्यसले देशभित्र र अन्तर्राष्ट्रिय जगतमा नै नेपाललाई धेरै बदनाम बनाएको उल्लेख गरिएको छ ।

उक्त कार्यक्रम समाप्त भइसकेको भए पनि त्यसमा सरकारको संलग्नताले धेरै गम्भीर प्रश्नहरू उठाएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘‘त्यसबाट इसाई धर्मको नाममा साम्राज्यवादको षडयन्त्रकारी भूमिका नेपालमा बढेर जाने खतरा उत्पन्न भएको छ । त्यो कार्यक्रमका सिलसिलामा सरकारले सम्पूर्ण राज्ययन्त्र, प्रतिनिधि सभा, गाउँपालिका तथा नगरपालिकाहरू समेतलाई परिचालन गर्ने प्रयत्न गरेको थियो । एउटा बदनाम धार्मिक संस्थाको प्रचारका लागि यसरी सम्पूर्ण राज्ययन्त्रको प्रयोग गर्नु सामान्य कुरा होइन । त्यसरी नेपालमा इसाई धर्मको प्रचारमा राज्ययन्त्र नै पूरै लाग्ने सम्भावना देखा परेको छ ।’’ विज्ञप्तिमा त्यसबाट सम्भावित खतरामाथि ध्यान दिँदै पार्टीले त्यस प्रकारको गतिविधिका विरुद्ध देशव्यापीरूपमा विरोध कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । पुसको पहिलो हप्तासम्म देशव्यापीरूपमा नै विरोध सभाहरूको आयोजना गरिने बताइएको छ ।

विज्ञप्तिमा चितवनका श्रीराम घिमिरे ८४ वर्षको उमेरमा निधन भएकोमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । स्व. घिमिरे नेकपा (मसाल)को चितवन जिल्ला कमिटीको सदस्य रहेको र पार्टीको नेतृत्वमा चलेका सबै सङ्घर्षहरूमा सक्रियतापूर्वक भाग लिँदै आएको महामन्त्री सिंहको विज्ञप्तिमा उल्लेख छ । पार्टीभित्र चल्ने सबै उतारचढावका बेलामा पनि उनले पार्टी र सिद्धान्तप्रति दृढ आस्था राख्दै आएको र उनको निधनले पार्टीलाई धेरै क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बाँकेका पार्टी समर्थक ग्रुपका सदस्य र तराई–मधेश मुक्तिमोचा बाँके जिल्ला समितिको सदस्य रङ्गीलाल धोवीको निधनप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको छ । उनी पार्टीको अत्यन्तै इमान्दार र कर्मठ कार्यकर्ता धोबीको निधनबाट पार्टीलाई धेरै क्षति पुगेको भन्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार