फोहोर पानी प्रशोधन केन्द्रमा खानेपानी मन्त्री मगरले गरिन् आकस्मिक निरीक्षण

  पहिलोपेज

 1032 पटक हेरिएको

काठमाडौं, २५ मंसिर । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकस्मिक निरीक्षण गरेकी छन् ।

खानेपानी मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गरेकी हुन् । दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरी शुद्धीकरण गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो ।

पानी शुद्धीकरण गरेर बाग्मतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिंचाई र सरसफाईको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने आयोजनाका प्रमुख तिरेशबहादुर खत्रीले बताए । उनका अनुसार, अहिले यो प्रशोधन केन्द्रको भौतिक कार्य करिब ८० प्रतिशत सम्पन्न भएको छ ।

सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाई छ । यो प्रशोधन केन्द्रको कार्य सकिएपछि यसबाट करिब ३ मेगावाट बिजुली र मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रको निर्माण कार्य भारतको चेन्नईस्थित भिटेक वाबाग कम्पनीले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार