ढुक्क हुनुहोस् वायुसेवा निगम कदापि निजीकरण हुँदैन : मन्त्री ज्ञवाली (भिडियोसहित)

  पहिलोपेज

 829 पटक हेरिएको

काठमाडौं, २५ मंसिर । पूर्व पर्यटनमन्त्री तथा वर्तमान सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वायुसेवा निगम कदापि निजीकरण नहुने बताएका छन् । आधिकारिक ट्रेड युनियनको चुनावको पूर्वसन्ध्यामा बोल्दै मन्त्री ज्ञवालीले त्यस्तो धारणा राखेका हुन् ।

मन्त्री ज्ञवालीले नयाँ वाइडबडी जहाजहरुको पूर्ण सन्चालनका लागि नयाँ सेक्टरहरु खोल्न तुरुन्त सरकार र परराष्ट्रमन्त्रीको हैसियतमा पहल गर्ने बताए । हाल बजारमा नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने भन्ने हल्ला चलिरहेकोले कदापि निजीकरणतिर नलिने र सरकारी स्वामित्वकै रुपमै अझै सुदृढ र बलियो बनाएर लैजाने प्रतिवद्धता पनि जनाए ।

मन्त्री ज्ञवालीले नेपाली आकाशलाई इयुको कालोसूचीबाट हटाउन दृढतापूर्वक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री ज्ञवालीले भने, ‘‘यी माथिका कुराहरूमा अहिलेको सरकार दृढ रहेको छ । यी कुराहरुमा हामी एकीकृत युनियनको पहल तथा दबाब रहनेछ जसले गर्दा हामी उच्चतम नाफामा गई कर्मचारीहरुको सेवासुविधा बृद्धिमा सदैव भूमिका खेल्नेछ ।’’

भएका जहाजहरु बेचेर भाडामा ल्याउने र प्रतिघण्टा हुने डलरको चलखेलबाट वायसेवा निगमको अधोगति शुरु भएको मत्री ज्ञवालीले औंल्याए । ‘‘जहाज भाडामा लिने होइन आफ्नै जहाज किनेर उडान बिस्तार गर्नुपर्छ । जहाजविहीन नेपाल वायुसेवा निगमको कुनै अर्थ छैन भन्ने नीतिबाट हामी डोरिएका थियौं पहिले । तर, समय सारै कम भएकाले त्यसलाई अगाडि बढाउन सकेनौं । आज कमसेकम खुशी छौं कि नेपाल वायु सेवा निगमका आफ्नै केही जहाजहरु आएका छन्, केही नयाँ थपिएका छन् । यद्यपि अहिले जहाज खरिद प्रक्रियाको बारेमा विभिन्न प्रश्नहरु पनि उठेका छन् । म त्यता जान चाहन्न ।’’ उनले थपे, ‘‘संसदका विभिन्न समितिहरुले, विभिन्न निकायहरुले त्यसमा अध्ययन गरिरहेका छन् । त्यसबाट आउने तथ्यहरु जे हुन्, भोलि त्यहीरुपमा स्थापित होलान् । छानविनलाई कसैले पनि प्रभावित गर्ने ढंगले जानु हुँदैन । तर, एउटा कुरामा सबैको हेक्का रहोस् भन्ने आग्रह गर्न चाहन्छु । हामी एकदमै चनाखो हुन जरुरी छ । नयाँ जहाज खरिद गर्ने बेलामा एउटा न एउटा बखेडा झिकेर निगमलाई जहाजविहीन बनाउने, भएका जहाजहरुलाई विभिन्न कृत्रिम बहाना बनाएर उड्न नदिने र या त जहाज भाडामा दिने या त भाडामा ल्याएर जहाज चलाउने र प्रकारान्तरले निगम डुबाउने, यो कुरा किमार्थ हुनसक्दैन ।’’

‘‘अनियमितताहरु छन् भने जुन औंलामा विष लागेको छ, त्यही औंला झर्छ’’, परराष्ट्रमन्त्री ज्ञवालीले थपे, ‘‘तर त्यसको नाउमा जहाज खरिद प्रक्रियालाई नै अवरुद्ध गर्ने, नयाँ जहाज थप्नै नदिने र जहाजविहीन वायसेवा निगम बनाउने खालको कुरामा कसैको पनि षडयन्त्र हुन दिनु हुँदैन । नेपाल सरकार यो कुरामा सचेत छ ।’’ मन्त्री ज्ञवालीले आफूले हिजो मन्त्रालय सम्हालेको अनुभवको आधारमा कर्मचारीहरुको अभियान र सरोकारमा सधै साथ दिने प्रतिवद्धता दोहोराए ।

मन्त्री ज्ञवालीले अहिले वायुसेवा निगमको संरचनाको बारेमा पनि छलफल चलिरहेको बताउँदै नेपाल वायुसेवा निगमको निजीकरण नहुने कुरामा ढुक्क रहन आग्रह गरे । ‘‘केही यस्ता रणनीतिक महत्वका कुराहरु हुन्छन्, जसमा राज्यले आफ्नो कमाण्ड लिएन भने त्यो राज्य राज्य रहँदैन । त्यसो हुनाले त्यस्ता केही पव्लिक इन्ट्रेष्टका क्षेत्रहरु छन्, जहाँ हामी त्यो ढंगले अगाडि बढ्न सक्तैनौं तर निश्चय नै म्यानेजमेण्टका विभिन्न स्वरुपहरुको बारेमा छलफल गर्न सकिन्छ । रणनीतिक साझेदारहरु खोज्न सकिन्छ । म्यानेजमेण्टलाई अझ सीपयुक्त र प्रभावकारी बनाउने विधिहरु खोज्न सकिन्छ । त्यसका शेयरहरुलाई अझ थप बिस्तार गर्न सकिन्छ । त्यो बेग्लै कुरा हो तर वायुसेवा निगममा राज्यको स्वामित्व रहन्छ, मुख्य स्वामित्व रहन्छ । यसमा कुनै द्विविधा नराख्न आग्रह गर्न चाहन्छु ।’’

पव्लिक इन्टरप्राइजेजहरुलाई खुम्च्याएपछि निजी क्षेत्र हलहलाएर अगाडि बढ्छ भन्ने भ्रम छरिएको बताउँदै उनले भने, ‘‘त्यो सही होइन । निजी क्षेत्रलाई प्रोत्साहन गरिनु पर्छ । निजी क्षेत्रका वायुसेवा होस् या अरु क्षेत्रका उद्योग व्यवसायहरु आउँछन् भने तिनलाई राज्यले हुर्किने वातावरण दिनुपर्छ । तर, पव्लिक स्वामित्वलाई खुम्च्याएर निजी क्षेत्र अगाडि बढ्छ भन्ने होइन । निजी क्षेत्रलाई प्रवद्र्धन गर्नु भनेको सार्वजनिक क्षेत्रलाई खुम्च्याउनु होइन ।’’ निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने, निजी क्षेत्रलाई अगाडि बढ्नका लागि उपयुक्त वातावरण निर्माण गर्ने पक्षमा सरकार रहेको बताउँदै उनले थपे, ‘‘सार्वजनिक क्षेत्रलाई कमजोर बनाएर, रणनीतिक क्षेत्रहरुमा राज्यलाई भूमिकाविहीन बनाएर उसको हात बाँधेर होइन ।’’

एसिया प्यासिफिक क्षेत्र साउथ, नर्थ र सेन्ट्रल एसिया जोड्ने यो क्षेत्र अहिले नै पनि एकदमै चलायमान भएको र आउने केही वर्षमा संसारको टुरिष्ट फ्लोको अझ खासगरेर हवाई यात्रुहरुको सर्वाधिक चाप यो क्षेत्रमा हुने उनले बताए । ‘‘आउने १० वर्षमा नेपाल वायुसेवा निगम कहाँ हुन्छ ? आउने २० वर्षभित्र वायुसेवा निगम कहाँ हुन्छ ?’’ यस्तो प्रश्न गर्दै मन्त्री ज्ञवालीले विश्वको यो अवस्थालाई हेरेर बजारको योजना बनाउनुपर्ने र जहाजहरुलाई १ मिनेट पनि खाली नराखी निरन्तर उडिरहने प्रवन्ध मिलाउनु पर्ने आवश्यकता पनि औंल्याए ।

हेर्नुहोस् भिडियोमा विस्तृत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार