आर्थिक संकटमा परेका एमबीबीएस पढिरहेका ३ जनालाई मुख्यमन्त्री राउतले दिए साढे ३ लाख

  निरंजन साह

 344 पटक हेरिएको

जनकपुरधाम, २५ मंसिर । प्रदेश नम्बर दुईको सरकारले आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीनजना दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नै कार्यकक्षमा एक कार्यक्रमबीच मंगलबार तीनैजना विद्यार्थीहरुलाई साढे ३ लाखको दरले चेक हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँलसहितको उपस्थिति रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले जानकारी दिएका छन् । छात्रवृत्तिमा नाम निकाली नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत तीनैजना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रेस सल्लाहकार मिश्रले बताए ।

प्रदेश सरकारको आर्थिक सहयोग पाउनेहरुमा सप्तरीका छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ बस्ने दिनेश मरिक डोम, सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर १ बस्ने रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन् । दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढ्ने पहिलो व्यक्ति हुन् भने रुकेशकुमार राम र प्रमोदकुमार राम दाजुभाइ हुन् ।

यसैबीच उपचार खर्चको अभावमा अपाङ्ग भएका महोत्तरी पिपराका शम्भु मिश्रलाई प्रदेश सरकारले उपचारको लागि ५० हजार उपलब्ध गराएको प्रेस सल्लाहकार मिश्रले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार